हाम्रो देश
१३ असार २०७९, सोमवार

राज्यले आवश्यक ठाने दैनिक ७५० सिलिण्डर अक्सिजन दिन तयार छौँः हाम्रो अक्सिजन उद्योग

२१ वैशाख, काठमाडौँ । नुवाकोटको ककनीमा स्थापना भएको हाम्रो अक्सिजन उद्योगले राज्यले आवश्यकता ठान्दा दैनिक ७५० सिलिण्डर उपलब्ध गराउन सक्ने भएको छ । हाम्रो अक्सिन उद्योगका सञ्चालहरूसँग दैनिकीले चासो राख्दा उहाँहरूले राज्यले आवश्यक ठान्दा उद्योगबाट दैनिक रूपमा उत्पादन हुने ७५० सिलिण्डर अक्सिजन अस्पतालहरूका लागि उपलब्ध गराउन सक्ने जानकारी दिनुभयो ।

उद्योगका सञ्चालक एवं संस्थापक अध्यक्ष गोपीप्रसाद कडेँलले महामारीको समयमा राज्यको नीति र निर्देशनको परिधिमा रहेर दैनिक ७५० सिलिण्डरसम्म अक्सिजन उपलब्ध गराउन सकिने जानकारी दिनुभयो । उहाँले अफ्ठेरोमा राज्य र नागरिकका लागि सहयोग गर्न पाउनु उद्योगीहरूका लागि पनि गर्वको विषय हुने जानकारी दिनुभयो । उहाँले यस विषयमा अध्यक्ष नवराज पाण्डे लगायतको टिममा निरन्तर छलफल भैरहेको जानकारी दिनुभयो ।

उहाँले राज्यले जग्गा उपलब्ध गराइदिएको खण्डमा बढीमा ४५ दिन भित्रमा एक हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न मिल्नेगरी प्लान्ट नै स्थापना गर्न पनि तयार रहेको जानकारी दिनुभयो । कडेँल राज्यले नै सम्मान गरेको महत्वपूर्ण व्यवसायीक व्यक्तित्व हुनुहुन्छ । उहाँ राष्ट्रिय उद्योग व्यवसायी महासंघ नुवाकोटको अध्यक्ष समेत हुनुहुन्छ ।

उद्योगका अर्का सञ्चालक एवं राष्ट्रिय उद्योग व्यवसायी महासंघ नुवाकोटका सचिव दीपकराज पाण्डेले पनि अफ्ठेरोमा राज्यका लागि सहयोग गर्नु आफूहरूको कर्तव्य रहेको बताउनुभयो । उहाँले नुवाकोटमै उद्योग रहेका कारण नुवाकोटका जनताका लागि पुग्ने अक्सिजन दिएर बाँकी अक्सिजन काठमाडौँका अस्पतालहरूमा दिन सकिने बताउनुभयो । उहाँले केही व्यक्तिले उद्योगलाइ राजनीतिक रंग दिन खोजेको भन्दै आफूहरूसँगै राज्यप्रति वफादार रहेको बताउनुभयो ।

उद्योगका अर्का सञ्चालक वासु थपलियाले पनि राज्यले अस्पतालहरूका लागि अक्सिजन खरिद गरेको खण्डमा आफूहरूका अन्य उद्योग केही समय बन्द गरेरै भए पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नागरिकको जीवन बचाउनकै लागि उद्योगले अक्सिजन अभाव हुन नदिन अन्य विकल्पमा पनि छलफल चलाइरहेको जानकारी दिनुभयो ।

हाम्रो अक्सिजन नेपालमा सञ्चालमा रहेका मध्ये अक्सिजनमात्र उत्पादन गर्ने नेपालकै सबैभन्दा ठूलो प्लान्ट हो । सुरूमा ३२ जना युवाहरूले सुरू गरेको यस उद्योगमा अहिले ५० जना भन्दा बढी सञ्चालक रहेका छन ।