हाम्रो देश
९ असार २०७८, बुधवार

एकै गाउँका १९ जनामा कोरोना संक्रमण

स्याङजा : वालिङ नगरपालिका १ स्थित धरमपानी गाउँ ‘सिल’ गरिएको छ। गाउँमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि अनिश्चितकालिन सिल गरिएको हो। चौरासी पूजामा सहभागी भएकामध्ये केहीमा कोरोनाका लक्षण देखिएपछि गरिएको एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ।

वैशाख १४ गते गाउँमै भएको पूजामा केही सहभागीमा एकाएक ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्नेलगायतका लक्ष्यण देखिएपछि २५ जनाले परीक्षण गराउँदा १९ जनामा संक्रमण पुष्टि भएको हो।

बाक्लो बस्ती रहेको गाउँमा एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि गाँउ नै सिल गर्नुपरेको नगरप्रमुख दिलिपप्रताप खाँणले बताए। नगर प्रमुख खाँण, उपप्रमुख कल्पना तिगारी र वालिङस्थित गह्रौं प्राथमिक अस्पतालका चिकित्सकीय टोलीले धरमपानी पुगेर एन्टिजेन परीक्षण गरेको थियो।

संक्रमण पुष्टि हुनेमा ९ वर्षीय बालकदेखि ७७ वर्षीय जेष्ठ नागरिकसम्म रहेको स्वास्थ्य प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए। ती मध्ये १४ महिला र ५ पुरुष छन्। सङ्क्रमित हुनेमा ७७, ६८, ६०, ५९, ५८, ५५, ३६, ३५, २८, २५ २३ २२, २० र १७ वर्षका महिला र ५८, ३७, ३३, २२ र ९ वर्षका पुरुष हुन्। सरुवा रोग भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गर्दै नगरपालिकाले आवश्यक औषधि समेत उपलब्ध गराएको छ।

स्याङजामा बुधबार साँझसम्म संक्रमितको संख्या ३ सय ३१ पुगेको छ। वालिङमा मात्र संक्रमतिको संख्या २ सय ८ छ। ती मध्ये ९ जनाले संक्रमण जितेका छन् भने एकजनाको पोखरामा उपचारका क्रममा निधन भएको छ।

सक्रिय संक्रमित १ सय ९८ मध्ये अधिकांश होम आइसोलेसन र केही पोखरामा उपचाररत छन्। बुधबार मात्र वालिङमा ३५ जना थपिका छन्। वालिङले मंगलबारदेखि अक्सिजनसहितको आइसोलेसन संचालनमा ल्याएको छ।