हाम्रो देश
१३ असार २०७९, सोमवार

७ जनाको सामूहिक चिता जल्दा रोयो बैतडीकाे रोडीदेवल गाउँ

धनगढी: सोमबार साँझ परेको चट्याङ लागेर बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडीदेवलका सदस्य गोविन्दसिंह भण्डारीको ज्यान गयो। उनको मृत्युपश्चात शव पोष्टमार्टम गर्न भनेर गाउँलेहरु जिल्ला सदमुकाम हिँडे। तर शवसहित ११ जना सवार जीप जिल्ला अस्पताल पुग्न पाएन।

से१ज १८३ नम्बरको जीप मंगलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका–६गणमेश्वर मन्दिर नजिकै दुर्घटनाग्रस्त भयो। जीप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो। उक्त दुर्घटनामा परी ४ जनाको घटनास्थलमै ज्यान गयो। अन्य ६ जना घाइते भए। ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि घाइते भएका चालक तेजबहादुर बोहरा र ५० वर्षीय खेमसिंह भण्डारी, ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी, २४ वर्षीय दिलिपसिंह भण्डारी र मोहनसिंह भण्डारीलाई अस्पताल लगियो। तर उनीहरुमध्ये चालक तेजबहादुर र खेमसिंहको अस्पताल पुग्न नपाउँदै बीचबाटोमै मृत्यु भयो। यसरी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो।

बुधबार वडासदस्य गोविन्द सिंहसहित सातै जनाको दशरथचन्द नगरपालिका १० स्थित महाकाली नदी किनारमा सामूहिक अन्त्येष्टि गरिएको छ। उनीहरु सातै जनाको बुधबार जिल्ला अस्पतालमा शव परीक्षण पश्चात आफन्तले अन्त्येष्टि गरेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

वडा सदस्यको मृत्युले दुःखित भएकाे रोडीदेवल गाउँ थप ६ जनाको दुर्घटनामा परी मृत्यु भएसँगै थप शोकमा डुबेको छ। अहिले घाइते भएका ३ जना उपचाररत छन्। उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ। ३० वर्षीय हरीसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलिपसिंह भण्डारीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेकोे छ। भने, अर्का घाइते मोहनसिंह भण्डारी जिल्ला अस्पताल बैतडीमा उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ। साँघुरो घुम्तीमा मोड्न नसक्दा जीप दुर्घटनामा परेको प्रहरीको निष्कर्ष छ।