हाम्रो देश
१८ असार २०७९, शनिवार

२४ घण्टामा नेपाल प्रहरीले ५ सय ४७ थान अक्सिजन सिलिण्डर संकलन गरी अस्पताललाई बुझायो

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५ सय ४७ थान अक्सिजन सिलिण्डर संकलन गरिएको छ।

ती मध्ये १ सय ८३ भरिएका र ३ सय ६४ खाली सिलिण्डर रहेका छन्। संकलन गरिएकामध्ये ५ सय १२ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको नेपाल प्रहरीले जनाएको छ।

बाँकी रहेका ३५ अक्सिजन सिलिण्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने प्रहरीले जनाएको छ। कतिपय खाली सिलिण्डर भर्नका लागि डिपोमा समेत पठाइएको छ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिण्डर होल्ड गर्ने अस्पताल, व्यक्ति, संघ-संस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिण्डर नियन्त्रण लिइएको हो।

त्यसरी संकलित सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको प्रहरीले जनाएको छ।

स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ। जथावाभी तवरबाट स्टक गरी राखेको पाइएमा सम्बन्धित व्यक्ति वा निकायउपर प्रचलित ऐन कानुन बमोजिम कारबाही केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए।