हाम्रो देश
१७ असार २०७९, शुक्रवार

माधव नेपाल समूहका २० नेताको राजीनामा तयार, भोली ९ बजे दिने

सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि माधव पक्षको समेत सहयोग अपरिहार्य हुने भएपछि राजीनामाको भित्री तयारी भएको उच्च स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा तयार भएको माधव समूहका नेताहरुले बताएका छन् ।

राजीनामा दिन तयार भएका सांसदहरुमा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाललगायत छन् ।

माधव पक्षले सांसदहरुको राजीनामाअघि उपनिर्वाचनमा आफ्ना २० प्रत्यक्ष निर्वाचित सांसदको जीतको सुनिश्चितता गर्नका लागि काँग्रेस र माओवादी केन्द्रसमेत तयार भएको बुझिएको छ । माधव पक्षले मुलुकको निकासका लागि बाध्य भएर राजीनामा दिने कठोर कदम चाल्नुपर्ने अवस्था आएको पनि दाबी गरेको छ ।

उनी भन्छन्, ‘पदका लागि टाँसिने होइन, अब त्याग गर्ने बेला पनि भयो । हिजो बलिदान गरेकै हो । लोकतन्त्र ल्याएकै हो । यति परिवर्तन भइसकेपछि पनि लोभ गरेर बस्नु हुँदैन भन्नेमा हामी एकमत छौं ।’

राजीनामा दिनेबारे आफ्नो समूहभित्र विवाद नभएको पनि ती नेताले बताए । यसैबीच माधव–झलनाथ समूहका अर्का नेता घनश्याम भुसालले पनि बुधबार सामाजिक सञ्चालमार्फत केपी ओलीसँग आत्मसमर्पण नगर्ने बताउँदै राजीनामाको बाटोमा जाने स्पष्ट संकेत गरेका छन् ।