हाम्रो देश
१२ असार २०७९, आइतवार

एकैदिन यति धेरै संक्रमितको मृत्यु भएपछि नेपाली सेनाले बल्ल चाल्याे यस्ताे कदम, देशभर तरंग

काठमाडाैं ।    अस्पतालमा अक्सिजनको अभावका कारण कोरोनाका बिरामीको भकाभक मृत्यु हुन थालेपछि रुपन्देहीमा नेपाली सेनाले राहतकाे कदम सुरू गरेकाे छ । बुधबार एकैदिन ८ जना काेराेना संक्रमितकाे मृत्यु भएपछि नेपाली सेनाको एमआई-१७ हेलिकप्टरले ४१ वटा अक्सिजन सिलिण्डर भैरहवा विमानस्थल झारेको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अक्सिजन अभावका कारण अस्पतालमा बिरामीहरूको ज्यान जोखिममा परेपछि हेलिकप्टरबाटै भए पनि ५० थान अक्सिजन सिलिण्डर रुपन्देही ल्याइएको जानकारी दिए।

तामाङले रुपन्देहीको उत्पादनले धान्न नसकेपछि तत्काल समस्या समाधान गर्न अक्सिजन सिलिण्डर ल्याइएको बताए। तामाङका अनुसार बुधबार ल्याइएका अक्सिजन सिलिण्डर भीम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पठाइने छ।

बुधबार बाराको सिमराबाट र चितवनबाट ४१ थान सिलिण्डर नेपाली सेनाले ल्याएको र थप एक सय सिलिण्डर बिहीबार बिहान ल्याइने तामाङले बताए। यसैगरी, खाली भएका सिलिण्डर भर्न बुटवलबाट पोखरा, चितवन, वीरगन्ज, विराटनगर लगायतका स्थानहरूमा पठाइएको र ती सिलिण्डरसमेत आउने क्रममा रहेको तामाङले बताए।

हेलिकप्टरमार्फत् ल्याइएका सिलिण्डर लिन बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी आफैं भैरहवा विमानस्थल पुगेका थिए। तीमध्ये केही सिलिण्डर भीम अस्पताल र बाँकी सिलिण्डर बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताल ल्याइने सुवेदीले बताए।

आधा घण्टामात्रै अक्सिजन आपूर्ति ढिलाइ हुँदा रुपन्देहीमा बुधबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। सेनाको यो कार्यले देशभर तरंग पैदा गरेको छ । अक्सिजन अभाव झेलिरहेका अन्य जिल्लाहरु पनि सेनाको यस्तै सहयोगको अपेक्षामा छन् ।

उसो त नेपाली सेनाको शव व्यवस्थापन टिमले वैशाख २२ यता ९ सय ७५ संक्रमितको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड–१९ संक्रमणबाट काठमाडौं उपत्यकामा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । वैशाख २२ भन्दा पछि काठमाडौं उपत्यकामा ५ सय ३ जनाको शव व्यवस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताए ।

गतवर्ष चैतबाट कोभिड संक्रमण शुरु भएसँगै नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएको छ । सेनाले हालसम्म ४ हजार ६ सय ८२ शव व्यवस्थापन गरेको छ । गत साता दैनिक १ सयजना भन्दा बढीले ज्यान गुमाएका थिए । दैनिक १ सयभन्दा धेरैको शव व्यवस्थापन चुनौतिपूर्ण रहेको सैनिक प्रवक्ता पौडेलले बताए । उनले भने–‘चुनौती छ तर, सबै क्षेत्रबाट सहयोग पाएका छौं ।’

वैशाख २२ यता हिजोसम्म पूर्वी पृतनाले ५२ जना संक्रमितको शव व्यवस्थापन गरेको छ । मध्यपूर्वी पृतनाको टिमले २८, मध्य पृतनाले ४३ र पश्चिम पृतनाले ५० संक्रमितको शव व्यवस्थापन गरेको छ । मध्य पश्चिम पृतनाको शव व्यवस्थापन टिमले १ सय ३९, उत्तर पश्चिम पृतनाको टिमले ७२ र सुदूर पश्चिम पृतनाले ८८ जना संक्रमितको शव व्यवस्थापन गरेको छ । काठमाडौंमा रहेको उपत्यका पृतनाले वैशाख २२ यता हिजोसम्म ५ सय ३ शव व्यवस्थापन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यस्तै सुख्खा मौसमका कारण नदीमा पानीको सतह घट्दा विद्युत् उत्पादन कम भएकाले भैरहवा क्षेत्रमा आपूर्तीमा असहज थियो । यतिबेला हावाहुरीका कारण दिनहुँ विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको छ । कहिले केहीबेरमा विद्युत् आइहाल्छ, कहिले घण्टौंसम्म आउँदैन । सामान्य अवस्थामा केही समयको विद्युत् आपूर्तिले जनजीवनमा सामान्य असर पार्ने गरे पनि यतिबेला भने थोरै समयमात्रै विद्युत् आपूर्ति अवरोध हुँदा ठूलो मानवीय क्षति हुने गरेको छ ।

कोभिड–१९ को विपद् जताततै मडारिइरहेको बेला विद्युत् आपूर्ति अवरुद्ध हुँदा यस क्षेत्रमा संचालित अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन बन्द हुन्छ । जसले गर्दा अक्सिजन अभाव झन् चर्किन्छ र प्रत्यक्ष असर अक्सिजनको सहारामा उपचाररत बिरामीमाथि पर्ने गरेको छ ।

यस्तै घटना बुधबार भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोभिड–१९ का संक्रमित बिरामीले बेहोर्नु पर्यो । तीन संक्रमितले अक्सिजन अभावले ज्यान गुमाए । मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया गाउँपालिका–२ की ७० वर्षीया महिला र सिद्धार्थनगर नगरपालिका–४ की ४४ वर्षीया महिला छन् । बुधबार बिहान भैरहवामा एकाएक हुरीबतास, मेघ गर्जनसहितको वर्षाले विद्युत् आपूर्ती बन्द भयो । जस कारण यहाँका तीनवटा अक्सिजन प्लान्ट अवरुद्ध हुन पुगे । केहीबेर अक्सिजन उत्पादन रोकियो ।

अक्सिजनको माग धेरै भएकाले अक्सिजन प्लान्टमा सिलिन्डर भरिनासाथ दौडाएर अस्पतालमा पुर्‍याइहाल्ने आपूर्ति प्रणाली अवरुद्ध हुन पुग्यो । जताततै अक्सिजन अभाव हुन थाल्यो । यहीबेला, भैरहवास्थित भीम अस्पतालमा अक्सिजन सकियो । स्वास्थ्यकर्मी हाइगुहार गर्न थाले । अस्पतालमा उपलब्ध अक्सिजन सकिएको र मौज्दात नभएकाले करिब ८ मिनेटसम्म अक्सिजन उपलब्ध हुन नसक्दा उनीहरुले ज्यान गुमाएका अस्पताल स्रोतले जनायो ।

यो यतार्थतालाई भने अस्पताल प्रशासनले ढाकछोप प्रयास गुरेको छ । ‘अस्पतालमा अक्सिजनको कमी देखेर आफन्तलाई अक्सिजन नपाएर मृत्य भएको लाग्न सक्छ’, अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ताले भनिन्, ‘अक्सिजन सकिनासाथ आइसकेको थियो ।’

तर, कोभिड संक्रमितको उपचारमा संलग्न अस्पतालकै एक स्वास्थ्यकर्मीले भने नाम उल्लेख नगर्न आग्रह गर्दै ती बिरामीको हाइफ्लो (धेरै अक्सिजन चाहिने) बिरामी भएको र अक्सिजन नपाएपछि छट्पटाउँदै मृत्यु भएको बताए । ‘अक्सिजन सकिएपछि एकछिन त रुवाबासी नै मच्चियो’ उनले भने ।

अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले उपलब्ध अक्सिजन सकिएको बेला परे पनि अन्तबाट सापटी ल्याइएको अक्सिजन जडान गर्दागर्दै उनीहरुको मृत्यु भएको बताए । रुपन्देहीमा शंकर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इण्डष्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमाले दैनिक १ हजार १ सय ३० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गर्छन् । तर, रुपन्देहीका सबै अस्पतालमा उपचाररत कोभिड संक्रमितका लागि त्यो भन्दा धेरै परिमाणमा अक्सिजनको आवश्यकता पर्ने गर्छ ।

लुम्बिनी अक्सिजन ग्यास इण्डष्ट्रिज पडसरीका व्यवस्थापक लेखनाथ भट्टराईले हावाहुरी र वर्षाका कारण पटक पटक गरेर विद्यत् अवरुद्ध हुँदा अक्सिजन उत्पादन गर्न नसकिएको बताए । ‘एक मिनेट विद्युत् आपूर्ती बन्द हुँदा उत्पादनको सामान्य अवस्थामा फर्किन प्लान्टलाई १५ मिनेटभन्दा धेरै समय लाग्ने गर्छ’, भट्टराईले भने, ‘यो बीचमा मैले विद्युत् कार्यालयमा फोन सम्पर्क गर्दै समस्या दर्शाउँदै आएको हुँ ।’

विद्युत् प्राधिकरण भैरहवा शाखाका प्रमुख जितेन्द्रकुमार झाले हावाहुरी र मेघगर्जनको समयमा पोल ढल्ने, रुखका हाँगा भाच्चिएर तारमा अड्किने भएकाले विद्युत् आपूर्तिमा अवरुद्ध हुने गरेको बताए । तर पनि, अक्सिजन उत्पादनलाई आधा घण्टाभित्र जसरी पनि विद्युत् उपलब्ध गराउँदै आइएको दाबी गरे ।

विद्युत्‌का कारण क्षमताअनुरुप अक्सिजन उत्पादन गर्न नसकिएको कम्पनीले जनाएपछि केही दिनअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विद्युत् प्राधिकरण र उत्पादकसहितको बैठक बसेको थियो । बैठकमा विद्युत् प्राधिकरणको तर्फबाट आधा घण्टाभित्र जसरी पनि अक्सिजन कारखानामा विद्युत् उपलब्ध गराउने सहमति भएको थियो । तर विद्युत् आउने जाने समस्या कायम रहेको अक्सिजन उत्पादकको गुनासो छ।

यस्तै गैरआवासीय नेपाली संघले ओमनबाट ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल पठाउने भएको छ । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेका बलो संघले सिलिन्डर पठाउने भएको हो ।

मस्कटस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन)का अध्यक्ष विकल झाका अनुसार सिलिन्डरको खरिद प्रक्रिया सुरु भइसकेको छ । ‘अक्सिजन सिलिन्डरका लागि अर्डर भइसकेको छ । कम्पनीले हामीलाई बिल पठाइसकेको छ । पहिलो किस्ताको रकम बुधबार नै भुक्तानी गर्छौं,’ उनले भने । एनआरएनले मस्कटस्थित अल हप्सी ट्रेडिङ कम्पनीसँग सिलिन्डर खरिद गर्न लागेको हो ।

सिलिन्डरका लागि झन्डै ७५ लाख रुपैयाँ पर्ने उनले बताए । ‘खाडी क्षेत्रमा रहेका एनआरएनले आवश्यक रकम जुटाउने काम भइरहेको छ । नपुग रकम भने एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिले उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।

खरिद भएको सिलिन्डरलाई नेपाल पठाउनको लागि ओमनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्ने उनले वताए । ‘हामी खरिद गरेर दूतावासलाई दिन्छौं । दूतावासले नै आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाउनेछ,’ उनले भने ।

ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अक्सिजन सिलिन्डर पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्ससँग समन्वय भइरहेको बताइन् । ‘हामीले आइतबार नै नेपाल पठाउनका लागि आवश्यक समन्वय गरिरहेका छौं,’ उनले भनिन् ।