हाम्रो देश
१७ असार २०७९, शुक्रवार

पूर्वमन्त्री भट्टराईले भने, ‘सरकार र राजनीतिक नेतृत्वले राष्ट्रको मिसन कोभिड- १९ बनाऔं’

काठमाडौं : एमाले नेता एवम् पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले अस्वस्थ राजनीतिक खेलले व्यवस्था नै धरापमा पर्ने चिन्ता व्यक्त गरेका छन्। उनले विगतदेखि कै सरकारहरुले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर पर्याप्त काम नगरेकाले आज विस्फोट हुन पुगेको टिप्पणी गरेका छन्। बिहीबार फेसबुकमार्फत उनले बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नाले हामीसबै लज्जित भएको बताएका छन्।

‘हाम्रो देश अझ संकटतिर जाँदै छ। विगतदेखि कै सरकारहरुले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो विस्फोट बन्न पुगेको छ। बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामी सबै लज्जित छौँ।’ उनले लेखेका छन्,‘यस्तो संवेदनशील अवस्थामा भइरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुस्टि बढदै गएर व्यवस्था नै धरापमा पर्नसक्ने सम्भावनाप्रति सबै सचेत हुनुपर्दछ।’

उनले नेपाल सरकारले चीन सरकार र अन्य देशका सरकारलाई सहयोगका लागि अनुरोध गर्नुपर्ने धारणा राखेका छन् । भट्टराईले सरकालाई चार बुँदे ध्यानाकर्षण गराएका छन्।

१. अहिले तुलनात्मक रुपमा चीनमा कोभिडको असर कम भएको देखिन्छ। तसर्थ अघिल्लो समयमा इटाली लगायतका युरोपेली मुलुकमा चीनले स्वास्थ्य सामाग्री र जनशक्तिसहित जसरी सहयोग गरेको थियो त्यसरि नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चीन सरकारलाई अनुरोध गर्नुपर्दछ। र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ।

२. २०७२ को महाभुकम्प पछि जसरी राजनीतिक विमतीहरुलाई थाती रखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाका बीचमा १६ बुंदे सहमति गरी संविधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिडविरुद्धको लडाईंमा फेरि एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नुपर्दछ। राष्ट्रको मिसन कोभिड- १९ लाई बनाउनुपर्दछ।

३. सम्पूर्ण जनशक्तिलाई कोभिडविरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने।

४. आर्थिक अभाव हुन नदिने। अन्य शिर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने। कोभिडविरुद्धको लडाईंमा खटेको जनशक्तिबाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुविधा हाललाई स्थगित राख्ने।