हाम्रो देश
१२ असार २०७९, आइतवार

काठमाडौंमा अक्सिजन नपाइएपछि कोरोना संक्रमितलाई हेलिकप्टरबाट बिएन्डसी लगियो

ललितपुर सातदोबाटोबाट एक जना कोरोना संक्रमितलाई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ। एयर अल्टिच्युडको हेलिकप्टरबाट बिहीबार होम आइसोलेसनमा बसिरहेकी ५७ वर्षीया सावित्रा श्रेष्ठलाई बिएन्डसी लगिएको हो। काठमाडौंका अस्पतालमा अक्सिजनसहितको बेडका लागि खोजी गरे पनि नपाइएपछि हेलिकप्टर चार्टर्ड गरी आफन्तले विर्तामोड लगेका हुन्।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अक्सिजनसहितको आइसियू बेड आवश्यक परेको थियो। ‘काठमाडौंमा अक्सिजनसहितको आइसियू बेड नपाएपछि हेलिकप्टरबाट यहाँ आउनुभएको छ,’ बिएण्डसीका जनसम्पर्क अधिकारी प्रमिश गिरीले भने, ‘उहाँलाई भर्ना गरी उपचार थालिएको छ।’

यसअघि काठमाडौं, पर्सा, ओखलढुंगालगायत ठाउँबाट बिएण्डसीमा ८ जना संक्रमितलाई हेलिकप्टरबाट लगिएको थियो। हेलिकप्टर चार्टर्ड महंगो परे पनि विकल्पको रुपमा उपचारका लागि बिरामीलाई ल्याइने गरिएको गिरीले बताए।