हाम्रो देश
१५ असार २०७९, बुधवार

प्रधानमन्त्री ओलीको आज दिउँसो सपथ

काठमाडौं ।   प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । सपथ कार्यक्रम दिउँसो साढे २ बजेका लागि तोकिएको जनाइएको छ ।

राष्ट्रपति भवल शीतल निवासमा हुने ओलीको सपथ कार्यक्रममा अन्य मन्त्रीहरुले पनि सपथ लिन सक्ने बताइएको छ । उनलाई बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

बहुमतको सरकार गठनका लागि तोकेको समयमा कसैको दावी नपरेपछि राष्ट्रपति भण्डारीले ठूलो दलको हैसियतमा प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई प्रधानमन्त्री पदका लागि दाबी गर्न आह्वान गरेकी थिइन् । तर उक्त समयअवधिमा कसैको दाबी पेस हुन आएन ।