हाम्रो देश
१२ असार २०७९, आइतवार

फुटको संघारमा जसपा, ठाकुर र महतोलाई आयो यस्तो कडा चेतावनी

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेपछि पार्टी फुटको संघारमा पुगेको हो ।

पार्टीभित्र विवाद चर्किरहेको बेला सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने चेतावनी दिएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको बताए ।

उनले भने, ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’

सांसद यादवले महन्थ–राजेन्द्र पक्षले आफुहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि बताए । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरि प्रचार गरिएको भन्दै उनले विधान विपरित गर्नेलाई कारबाही गरिने पनि बताए । उनले भने, ‘विधान भन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ ।

कारबाही हुन बित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ । बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’ जसपा भित्र बाबुराम भट्टराई –उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच तिव्र मतान्तर भएको छ । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् ।

ठाकुरले एक विज्ञप्तिमार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाइएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’

पार्टीभित्रको विवादका बीच यादवले आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएर छलफल गरिरहेका छन् । सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।

जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चारजना सांसदलाई कारवाही गरिएको थियो ।

यादव पक्षका नेताको दावी अनुसार संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतका आधारमा काँग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएर सरकार बनाउने निर्णय यादव समूहले थियो ।

तर पछिल्लो समय जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरले १९ जना सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए । र सोही हस्ताक्षरको आधारमा राजेन्द्र महतो संसदीय दलका नेता बनेका हुन् । तर चारजना सांसदले दुवैतिर हस्ताक्षर गरेका छन् । त्यसैले संसदीय दलको बहुमत कसको पक्षमा छ भने कुरा छुट्याउन गाह्रो रहेको बताइन्छ ।