हाम्रो देश
१२ असार २०७९, आइतवार

सत्ता राजनीतिको दुश्चक्रमा नेपाली जनता

हामी सानोमा स्कूल पढ्दा देशमा पञ्चायती शासन व्यवस्था थियो । पञ्चायती व्यवस्थाकै गुणगान गाउनुपर्ने बाध्यकारी अवस्था थियो । पाठ्यक्रममा पनि ‘पञ्चायत’ नामको एउटा पुस्तक पढ्नुपर्थ्यो ।

हामीलाई ‘नेताहरू दलगत स्वार्थमा लागेको र जनअपेक्षा अनुसार काम गर्न नसकेकाले श्री ५ महेन्द्रबाट २०१७ साल पुस १ गते देशको माटो सुहाउँदो पञ्चायती व्यवस्थाको प्रादुर्भाव गरिबक्स्यो’ भन्ने पढाइयो । हामीले त्यही पढ्यौं । त्यस पुस्तकमा दलीय व्यवस्था असफल हुनुका थुप्रै कारण उल्लेख गरिएका थिए । जे पढाइयो, त्यही बुझ्यौं ।

हामी प्रत्येक वर्ष पुस १ गतेका दिन ‘पञ्चायती व्यवस्था– जिन्दावाद’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा घन्काउँदै गाउँ पञ्चायतको कार्यालयमा जान्थ्यौं । त्यसैगरी पुस १४ गते राजा वीरेन्द्र र कात्तिक २२ गते रानी ऐश्वर्यको जन्मोत्सव हुन्थ्यो । यी जन्मोत्सवहरू कहिले आउलान् र रमाइलो होला भनेर दिन गनेर बस्थ्यौं ।

जन्मोत्सवमा राजा–रानीका फोटामा माल्यार्पण गरेपछि लामा–लामा भाषण हुन्थे । को–कसले के–के भन्थे हामी बुझ्दैनथ्यौं, नबुझे पनि सुन्थ्यौं । कतिले के के पुरस्कार पनि पाउँथे । हामी फगत ताली पड्काउँथ्यौं । कार्यक्रमपछि थकित, गलित र भोकाएर घर पुग्दा पनि आफ्नै खालको रवाफ हुन्थ्यो ।

समय बित्दै गयो । एकदलीय पञ्चायती व्यवस्थाले जनतालाई प्रजातान्त्रिक अधिकार नदिएको भन्दै हामीलाई विरोधमा उत्रन लगाइयो । त्यतिबेला भनिएको थियो– ‘राजाका कारण देशले दुःख पायो ।’ ‘जनताले तिरेको करले दरबारले मोज गर्‍यो।’

त्यसो त २००७ सालअघि हाम्रा पुर्खालाई पनि ‘जनताले दुःख पाउनुको एक मात्र कारण राणाशासन हो’ भनिएको थियो । अनपढ पुर्खाहरूले त्यही बुझे । जानी–नजानी राणाशासन फ्याँक्न क्रान्ति गरे । तर २००७ सालको प्रजातन्त्रपछि देश झन् अस्थिर बनेको थियो ।

२०१५ सालको आम निर्वाचनमा देशको इतिहासमै पहिलो पटक नेपाली काङ्ग्रेसको दुई तिहाइको सरकार बनेको थियो । त्यसलाई पाखा लगाएर राजा महेन्द्रले २०१७ सालमा मौलिक व्यवस्थाको नाममा पञ्चायत जन्माएका थिए । पञ्चायतविरोधी आन्दोलनमा हामी पनि डराई–डराई, लुकी–लुकी सहभागी हुन्थ्यौं ।

त्यति मात्रै होइन– ‘देशमा राजाका मुठ्ठीभर व्यक्तिको हालीमुहाली चल्यो ।’ ‘एकदलीय पञ्चायती व्यवस्था नै देश विकासको बाधक हो ।’ ‘नागरिककोे मौलिक हकमाथि प्रतिबन्ध लगायो ।’ ‘एकदलीय व्यवस्थाले नागरिकलाई दाससरह बनायो ।’ ‘जनताले दुःख पाए ।’ ‘विकास अवरुद्ध भयो’ आदित्यादि । नेताहरूले भनेका कुरा सत्य होला भनेर पत्याइयो । पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भएर लागियो ।

३० वर्षसम्म पञ्चायतले जनतालाई दमन गरेको भनेर जनतालाई आन्दोलित बनाउने काम भयो । ‘निर्दलीय पञ्चायती व्यवस्था मूर्दावाद’ भन्दै जनता सडकमा ओर्ले । २०४६ सालमा त्यसलाई पनि मिल्काइयो । प्रजातन्त्रको पुनर्बहालीले देशमा विकास, सुशासन र समृद्धि आउला भन्ने आशा गरियो । चुनावमा जनताले नेपाली काङ्ग्रेसलाई जिताए । अब चाहिं केही हुन्छ भनेर बुरूक्क उफ्रियो । तर, परिणाम निराशाबाहेक केही भएन । जनताका दुःखका दिन जस्ताका तस्तै रहे ।

प्रजातन्त्रको पुनर्बहालीको केही वर्षमै केही मान्छे जङ्गल पसे । आम जनताको दीर्घकालीन मुक्ति र मुलुकको आमूल परिवर्तनका लागि हतियार उठाउनुको विकल्प छैन भन्दै ‘जनयुद्ध’ भयो । ठूलै उपलब्धि हुनेछ भनेर एकथरी जनता जमेरै लडे । अब त होला भनियो । त्यो पनि पत्याइयो । हजारौंले ज्यान दिए, हजारौंको ज्यान लिए । मार्ने–मर्ने प्रतिस्पर्धा भयो । तर विनाश र विध्वंसबाहेक अरू खासै उपलब्धि केही भएन । जनतालाई भेडा मात्रै बनाइयो ।

आशा देखाइएको थियो– ‘नेपाली जनताले अघिल्ला राजनीतिक परिवर्तनहरूमा जे–जे पाउन सकेका थिएनन्, अब त्यो सबै प्राप्त गर्नेछन् ।’ ‘हामी र हाम्रा सन्ततिले सुख, शान्ति र समृद्धि पाइनेछ ।’ ‘मुलुकमा रहेका सबै प्रकारका विभेद अन्त्य हुनेछन्’ आदि ।

देशमा गणतन्त्रको नाममा २०६२÷६३ सालमा दोस्रो जनआन्दोलन भयो । राजतन्त्रका कारण जनताले दुःख पाएको भनियो । गणतन्त्रका लागि जनता पुनः मर्न, मार्न र बलिदानी दिन तयार भए । तर उक्त जनआन्दोलनले पनि केही नेतालाई पद र कुर्सीमा पुर्‍याउनेबाहेक आम जनतालाई कुनै उपलब्धि दिएन । नेपाली जनतालाई झुक्याउने र ठग्ने सिलसिला रोकिएन ।

लामो सङ्घर्ष, हजारौंको बलिदानी, पटक–पटकका निर्वाचन र रस्साकस्सीपछि २०७२ सालमा एक थान संविधान बनाइयो । सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने भनेर संघीयता लागू गरियो । तीन तहका सरकार बनाएर विकासको मूल फुटाउने भन्दै देशैभरि सयौं मन्त्री र हजारौं सांंसदहरूको ठूलै फौज निर्माण गरियो । मुलुकभरि मन्त्री नै मन्त्री भए । तर, विकास र समृद्धि ? सिंहदरबारको अधिकार गाउँगाउँको नारा ? हालका घटना र कुर्सीका लागि लडिरहेका दलहरूका हर्कतहरूले प्रष्ट पारेकै छन् ।

कम्युनिष्टहरूलाई चुनावमा जिताए मुलुकमा स्थिरता र समृद्धि आउँछ भनियो । जनता सुखी र समृद्ध हुन्छन् भनियो । देशमा शान्ति छाउँछ भन्ने आशा देखाइयो । त्यही आशामा २०७४ सालमा करीब दुई तिहाइ मत दिएर जनताले कम्युनिष्टहरूलार्ई सडकबाट सरकारमा विराजमान गराए । तर विडम्बना, पदीय भागबन्डा, कुर्सीको लुछाचुँडी र व्यक्तिगत स्वार्थ नमिलेपछि उनीहरू तीन वर्षमै आपसमा लडेर यतिखेर नानाथरी तमासा देखाइरहेका छन् ।

कोरोना विरुद्ध सिङ्गो देश एक भएर लड्नुपर्ने बेलामा हाम्रा नेताहरू फगत कुर्सीका लागि लडिरहेका छन् । विकासको मूल फुटाउन बनाइएका संघ र प्रदेशका सरकार परिवर्तनको बहानामा कुर्सीका लागि ताण्डव नृत्य गर्दैछन् । जनतालाई ठग्ने फेरि अर्को बहाना खोज्दैछन् । सो सिलसिला कायमै छ ।

नेपाली जनतालाई पञ्चायतले ढाँट्यो, राजावादीले ढाँटे, बहुदलवादीले ढाँटे अनि गणतन्त्रवादीले ढाँटे । ढाँट्ने शृङ्खला अद्यापि जारी छ

हिजो ‘जनताले समयमा मल पाएनन्, बजार पाएनन्, मूल्य पाएनन्’ भनियो । ‘सुरक्षा पाएनन्, औषधि पाएनन्, शिक्षा पाएनन्, रोजगारी पाएनन् र एउटा नागरिक हुनुको सम्मान समेत पाएनन्’ भनियो । ‘आन्दोलन र सङ्घर्ष गरे सबै पाइन्छ’ भन्ने आशा देखाइयो । हरेक पटक जनताले नै त्याग गरे, बलिदानी दिए ।

तर आज उनीहरूले के पाए ? आम जनताको जीवनस्तरमा के तात्विक अन्तर आयो ? आम जनताका लागि पञ्चायत, राजतन्त्र, प्रजातन्त्र–लोकतन्त्र र गणतन्त्रमा के फरक भयो ? खै त जनताको त्यत्रो सङ्घर्ष र बलिदानीको मूल्य ? जनतालाई बाँडिएका सपना कहिले पूरा हुन्छन् ? तमाम प्रश्नहरू उठेका उठ्यै छन् ।

यतिखेर जनतामा झन् बढी निराशा छ । रोग छ, शोक छ । दुःख छ, पीडा र अभाव छ । मुलुकमा भ्रष्टाचार छ, बेथिति र विसङ्गति छ । नातावाद–कृपावाद छ, सत्ताका लागि लुछाचुँडी अझ बढी छ । नेपाली जनतालाई कहिले एकदलीय व्यवस्थाका पञ्चले ढाँटे, कहिले राजावादीहरूले ढाँटे । कहिले बहुदलवादी नेताहरूले ढाँटे त कहिले गणतन्त्रवादी नेताहरूले ढाँटे । सबै मिलेर निरीह नेपाली जनतालाई पटकपटक ढाँटिरहे । अझै अनेक बहानामा सत्ता पक्ष–विपक्षी दल सबैले ढाँट्दैछन् । ढाँट्ने र ठग्ने शृङ्खला अद्यापि जारी नै छ ।

संकटका बेलामा सत्ताकै राजनीति !

यतिखेर मुलुक कोरोनाको दोस्रो लहरको चपेटामा परेको छ । महामारीका कारण देशमा भयावह अवस्था सिर्जना भएको छ । ज्यान गुमाउने र संक्रमित हुनेहरूको सङ्ख्या दिनहुँ अंकगणितीय रूपमा बढ्दैछ । आईसीयू बेड र अक्सिजन समेत नपाएर मुलुकभरि बेहाल छ । अस्पतालहरूमा करुण चीत्कार छ । घरघरमा रुवावासी छ । जनता मरेरै सकिने हुन् कि भन्ने त्रास बढ्दो छ ।

तर यस्तो दुःख र पीडादायी अवस्थामा पनि हाम्रा राजनीतिक दलका नेताहरू भने सरकार फेर्ने र बचाउने हर्कतका नानाथरी तमासा देखाउँदै छन् । सत्ताकै लागि छुद्र र तुच्छ क्रियाकलापमै केन्द्रित छन् । देश र जनताप्रति योभन्दा भद्दा मजाक अरू के हुन सक्छ ?

नेताहरूका सोच र गतिविधिमा जनताले भोगेको सास्ती र पीडाप्रति कुनै सहानुभूति देखिंदैन । महामारीमा ज्यान गुमाउनेप्रति श्रद्धा र परिवारप्रति कत्ति पनि संवेदनशीलता छैन । पटकपटक सत्ता र शक्तिको केन्द्रमा पुगिसकेकाले फेरि पनि सत्तामा पुग्न र टिक्न गरिरहेका यी हर्कत अत्यन्त आपत्तिजनक छन् । मानवीय संवेदना र संवेदनशीलता समेत नभएका यी नेताहरू कसरी जनताबाट चुनिएछन् ? आशंका, पश्चात्ताप र दुःखको विषय हो ।

नेपाली जनताका पटक–पटकका सङ्घर्षहरूले थुप्रै व्यवस्था बदलिए, थुप्रै व्यक्ति बदलिए तर शासकको मूल प्रवृत्ति भने बदलिन सकेन । जनताले जुन प्रवृत्तिका विरुद्धमा पटक–पटक संघर्ष गरेका थिए, बलिदानी दिएका थिए, आज तिनै प्रवृत्तिहरू भेष बदलेर नेपाली जनतालाई पुनः लुटिरहेका छन्, ठगिरहेका छन् । जनताको ठूलो बलिदानीबाट प्राप्त बहुदलीय प्रजातन्त्रदेखि गणतन्त्रसम्म आलोपालो सत्ताको शीर्ष स्थानमा पुगेकाहरूले जनतालाई बाँडेका सपनाहरू साकार कहिले गर्छन् ? यक्ष प्रश्न यही नै हो ।

ती सपनाहरू पूरा गर्न नेपाली जनताले फेरि अर्को संघर्ष गर्नुपर्ने त हैन ? पटक–पटक ठगिएका जनता अब कहिल्यै नठगिने ग्यारेन्टी के होला ? जनता ठगिने र झुक्याइने सिलसिलाको अन्त्य कहिले हुन्छ ? अब भने स्थायी उपचार र समाधान खोज्नैपर्छ ।

(ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा र वाम बुद्धिजीवी हुन् ।)