हाम्रो देश
९ असार २०७८, बुधवार

कोरोना : ३ मिनेटको अन्तरमा जन्मेका जुम्ल्याहाको २२ घन्टाको फरकमा मृत्यु

भारतको उत्तर प्रदेशको मेरठमा कोरोनाका कारण जुम्ल्याहा दाजुभाइको ज्यान गएको छ । जोयफ्रेड भर्गिज ग्रेगोरी र रोलफ्रेड भर्गिज ग्रेगोरी २२ घन्टाको फरकमा बितेका हुन् । दुवैजना इन्जिनीयर थिए र पोहोर साल मात्र एउटा बहुराष्ट्रिय कम्पनीमा उनीहरूले जागिर पाएका थिए । लकडाउनमा उनीहरू घरैमा बसेर काम गरिरहेका थिए अनि घरैमा उनीहरूलाई संक्रमण भयो ।

शुक्रवार दाइ जोयफ्रेड र शनिवार भाइ रोलफ्रेडको मृत्यु भएको हो । उनीहरू तीन मिनेटको अन्तरमा जन्मेका थिए । आमा सोजा ग्रेगोरी र पिता ग्रेगोरी राफेल सेन्ट टमस स्कूलमा पढाउँथे । दाजुभाइ आनन्द अस्पतालमा भर्ना गरिएका थिए । दुवैलाई एकैपटक संक्रमण भएको थियो । आरटीपीसीआर पोजिटिभ आएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा गम्भीर संक्रमण भएपछि अक्सिजन स्तर घटेको थियो ।

अक्सिजन दिइएपछि अनि प्लाज्मा थेरापी गरिएपछि उनीहरू बिस्तारै निको हुँदै गए । कोरोना नेगेटिभ भए पनि उनीहरूको फोक्सोमा पोस्ट कोभिड फाइब्रोसिस बढेको थियो । सास फेर्न गाह्रो नै परिरहेको थियो । चिकित्सकहरूले उनीहरूलाई अस्पतालमै राखे । त्यहीँ नै उनीहरूको मृत्यु भयो । उनीहरूभन्दा पाँच वर्ष जेठा नेलफ्रेड ग्रेगरी मात्र जीवित छन् ।