हाम्रो देश
९ असार २०७८, बुधवार

कोरोनाको पहिलो औषधि सार्वजनिक, औषधि धुलो हुन्छ, बिहान–बेलुका पानीमा घोलेर खानुपर्छ

काठमाडौं। कोरोनाभाइरसकै उपचारको लागि बनाइएको पहिलो औषधि भनेर दावी गरिएको औषधि सार्वजनिक गरिएको छ । भारतीय रक्षा मन्त्रालयको डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) ले विकास गरेको २डिजी नामको औषधि सोमबार आकस्मिक प्रयोगका लागि सार्वजनिक गरिएको हो । अब यो औषधि बिरामीलाई दिन सकिनेछ । आरतीय रक्षामन्त्री राजनाथ सिंहले औषधि सार्वजनिक गरेका हुन् । कार्यक्रममा भारतीय स्वास्थ्य मन्त्री डा. हर्ष वर्धन पनि उपस्थित थिए ।

भारतीय अखबार दैनिक भास्करका अनुसार यो औषधि धुलोको रुपमा छ । यो औषधि सबैभन्दा पहिले दिल्लीको डिआरडिओ कोभिड अस्पतालमा भर्ना गरिएका बिरामीलाई दिइनेछ । औषधि सार्वजनिक गर्ने कार्यक्रममा डिआरडिओका प्रमुख जी सतीश रेड्डीले अहिले हप्तामा करिब १० हजार डोज उत्पादन क्षमता रहेको बताउँदै आज यो औषधि एम्स, एएफएमएस र डिआरडिओ अस्पताललाई दिइने बताए । रेड्डीका अनुसार अन्य राज्यले अर्को चरणमा औषधि पाउनेछन् । उनले जून महिनाको पहिलो हप्तासम्म सबै ठाउँमा यो औषधि उपलब्ध हुने बताए ।

रेड्डीका अनुसार यो औषधिले कोरोनाभाइरस संक्रमित बिरामीको कोशिकाहरुमा सिधा काम गर्नेछ । शरीरको रोग प्रतिरोधी प्रणालीले काम गर्नेछ र बिरामी छिटो निको हुनेछन् । यो औषधि बिरामीको तौल र डाक्टरको प्रेस्क्रिप्सन अनुसार कम्तीमा ५–७ दिन बिहान–बेलुका दैनिक २ डोज सेवन गर्नुपर्छ । यो औषधिलाई डिआरडिओको इन्स्टिच्युट अफ न्यूक्लियर मेडिसिन एण्ड अलाइड साइन्सेजले डा. रेड्डीज लेबोरेट्रीजसँग मिलेर बनाएको हो ।

क्लिनिकल रिसर्चको क्रममा यो औषधिका ५.८५ ग्रामका पाउच तयार गरिएका थिए । यसको एक–एक पाउच बिहान बेलुका पानीमा घोलेर बिरामीलाई दिइयो । यसको नतिजा राम्रो आयो । जुन बिरामीलाई यो औषधि दिइएको थियो उनीहरु छिटो निको भए । यही आधारमा भारतको औषधि नियामक निकाय ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले यो औषधिलाई आकस्मिक प्रयोगको लागि स्वीकृति दिएको छ ।

यसअघि डिआरडिओका अधिकारीले बताएअनुसार यो औषधिको अन्तिम ट्रायल देशभरमा २७ अस्पतालमा गरिएको थियो । त्यहाँबाट बाँकी रहेको स्टक पनि जम्मा गरिएको छ । यो औषधि अब दिल्लीको डिआरडिओ अस्पताल पठाइनेछ । यी औषधि जम्मा गरेर दिल्ली पठाउने काम तीब्र रुपमा भइरहेको छ । यो औषधि अहिले अस्पतालमा डाक्टरको सल्लाहबमोजिम दिइनेछ । अहिले यसलाई आकस्मिक प्रयोगको मात्रै स्वीकृति दिइएको छ । जबसम्म यो औषधिले सामान्य प्रयोगको लागि स्वीकृति पाउँदैन तबसम्म यो बजारमा भने पाइने छैन ।