हाम्रो देश
९ असार २०७८, बुधवार

बैंकको जागिर छाडेर बोटबिरूवा हुर्काइरहेका रोशन

दाङ, तुलसीपुरका ४५ वर्षीय रोशन आचार्यलाई अहिले लकडाउनको चिन्ता छैन। उनी आफ्नो फूलबारीमै रमाइरहेका छन्। आचार्यको यो फूलबारी व्यवसायिक नर्सरी पनि हो। यही फूलबारी सम्हाल्न उनले बैंकको जागिर छाडेका थिए।

तुलसीपुर उपमहानगरपालिका-६ स्थित कालोखोला ओरालोमा पर्ने आफ्नै घरको फूलबारीमा त्यसै भुलेका होइनन् उनी। उनलाई यहाँका फूल, रूख र चराचुरूंगीले भुलाउँछन्। तीभन्दा धेरै कामले।

बारीमा विभिन्न जातका ठूल्ठूला रूख, साना-ठूला फूल र थरीथरी फलफूल छन्। कोइलीको ‘कुहु कुहु’, ‘काफल पाक्यो’ देखि परेवा र ढुकुरको ‘मगमग-गुर्रर’ ले फूलबारीमा सधैं रौनक हुन्छ।

यो फूलबारी आफ्नो जिन्दगीमा आइपर्ने तनावबाट मुक्ति पाउने बाटो झैं लाग्छ उनलाई।

‘यहाँ आएर, काम गरेपछि सबै कुरा भुल्छु। तनाव भए पनि मुक्त हुन्छु,’ आचार्यले भने, ‘चराका आवाज सुन्दै, बोटबिरूवा र माटोसँग खेल्दा समय गएको पत्तो हुँदैन।’

केही वर्षअघिको कुरा हो। उनले आफ्नो सडकछेउको जग्गामा धेरै पछिल्तिर घर बनाए। त्यतिबेला उनलाई साथी र आफन्तले गाली नै गरे। ‍

‘तिमी कस्तो बुद्धि नभएको मान्छे, सडकमा जग्गा छ, सटरैसटर बनाएको भए जम्मै भाडामा जान्थ्यो। धेरै फाइदा लिने थियौ। व्यापार चम्किन्थ्यो नि’ साथीभाइ र आफन्तले भनेका थिए।

‘सबैले यही सुझाव दिन्थे, गाली पनि गर्थे। तर मैले मानिनँ,’ आचार्यले ती दिन सम्झिए।

उनलाई कंक्रिट जंगल मात्रै रोप्न मन थिएन। वातावरण मासेर बजार विस्तार गर्नु, संरचना बनाउनु मात्रै विकास होइन भन्ने उनको बुझाइ छ।

‘पुर्ख्यौली जग्गालाई सजाएर थप सुन्दर बनाउनु राम्रो हो भन्ने लाग्यो,’ आचार्यले भने, ‘त्यसैले तत्कालको फाइदा हेरेर क्रंकिट भवन वा सटर बनाउनतिर लागिनँ। जग्गा बचेर महँगा मोटर किन्न र क्षणिक ऐश-आरामको जीवन खोजिनँ।’

आचार्यको नर्सरी र फूलबारी देखेर अहिले टोलबासी र आफन्त प्रशंसा गर्छन्। उतिखेर उनलाई ‘मूर्ख’ भन्नेहरू आज उनको फूलबारी हेर्दै लोभिन्छन्।

अहिले उनको झन्डै १६ कठ्ठा जग्गामा रूख-बिरूवा तथा नर्सरी छ। पैत्तृक जमिन साढे तीन विघा हो जसमा विस्तारै विस्तारै नर्सरी नै बनाउने योजना बुनेका छन्, ‘फलफूल बिरूवाको बजार राम्रो हुँदै गयो भने पूरै जमिन नर्सरीका लागि प्रयोग गर्नेछु।’

बोटबिरूवाप्रति उनको मोह आजको होइन। सानैदेखि उनी नयाँ बोटबिरूवा देख्यो कि घर ल्याइहाल्ने स्वभावका थिए। उनलाई ३० वर्षअघिको स्कुले भ्रमण अझै याद छ। भ्रमणमा उनीहरू पोखरा गएका थिए। आमाबुवाले उनलाई कपडा किन्न भनेर पैसा दिएर पठाए। तर आचार्यले त्यो पैसाले लुगाफाटा किनेनन्, बरू ‘साइकस’ जातको एउटा बिरूवा किने।

त्यतिखेर उक्त बिरूवालाई ११ सय रूपैयाँ परेको उनी बताउँछन्। त्यो बिरूवा अहिले उनको बारीमा ठूलो बोट भएर हुर्किसक्यो।

‘अहिले यही ठूलो आकारको साइकस बिरूवा जम्मा पाँच सयमा बेच्छु। त्यही पनि ग्राहकले महँगो भयो भन्छन्। यो सुनेर म कहिलेकाहीँ छक्क पर्छु,’ उनले भने।

बोटबिरूवा भनेर मात्र हुँदैन, तिनलाई रोप्नदेखि हुर्काउनसम्म पैसा र श्रमको लगानी चाहिन्छ। आचार्यका अनुसार उनी बिरूवा हुर्काउन बालुवा, गाईवस्तुको मल, कोकोपिट (नरिवलका जटा) जस्ता वस्तु प्रयोग गर्छन्। गोठेमल किन्न मात्र वर्षमा एक-डेढ लाख रूपैयाँ खर्च हुन्छ।

उनको बारीमा फलफूलका २०/२२ र फूलका ५०/५५ प्रजाति छन्। ड्रागन फ्रुट, एभोकाडो, लिची, बाह्र मसला, कटहर, आँप, केरा, कागती, मुन्तला, नासपाती, भुँइकटहर लगायत फलका बिरूवा यहाँ पाइन्छ। नेदरल्यान्ड्स र थाइल्यान्डका बिउबाट डेलिया, सयपत्री, पिटुनिया, देन्थस, कार्नेसन, भरभेना, जर्भेरा लगायत विभिन्न फूलका बिरूवा पनि उत्पादन गर्दै आएका छन्।

बिरूवा र जात हेरी एउटाको थोरैमा २० रूपैयाँदेखि बढीमा २४/२५ हजारसम्म पर्छ। लकडाउनमा पनि उनको नर्सरीमा फाट्टफुट्ट ग्राहक आइरहन्छन्। सामान्य अवस्थामा दैनिक एक सय वा महिनामा तीन हजार बिरूवा बिक्री हुने उनले बताए। वर्षायाम (जेठ, असार, साउन) मा बढीजसो फल लाग्ने बिरूवा बिक्री हुन्छ। दसैं वा चाडपर्व बेला भने फूलका बिरूवा धेरै बिक्छन्।

हालसम्म नर्सरी व्यवस्थापनका लागि करिब ६० लाख रूपैयाँ लगानी पुगिसकेको छ। यही नर्सरीबाट हुने आम्दानी भने वार्षिक पाँच लाख हाराहारी हो। बगैंचामा दैनिक ज्यालादारी रूपमा ६/७ जनाले काम पाइरहेका छन्। परिवार बाहेक थप तीन जना मासिक तलबमा काम गर्छन्।

‘कर्मचारी, लगानी लगायत सबै खर्च कटाएर वार्षिक चार-पाँच लाख निस्किन्छ। त्यही हाम्रो आम्दानी हो। सबभन्दा ठूलो आम्दानी त मेरो सन्तुष्टि हो,’ उनी भन्छन्।

आचार्य मूल बिरूवाबाट आफैंले नयाँ बिरूवा उत्पादन गर्नेमा जोड दिन्छन्। विदेशबाट सिधै बिरूवा ल्याएर बेच्दा फाइदा नहुने र सन्तुष्टि पनि नमिल्ने उनको बुझाइ हो। त्यसैले उनी आफैं बिरूवा उत्पादन गर्न लागि पर्छन्।

जागिर गर्दा निश्चित समय काम गरेपछि उनी फुर्सदिला हुन्थे। महिना पुगेको दिन तलब पनि पाउँथे। नर्सरी सुरू गरेर के गुमाएँ वा के पाएँ भनेर उनले हिसाब गरेका छैनन्। सुखको अनुभव भने प्रशस्तै लिएको बताउँछन्।

भने, ‘म केही नलिएरै आएको हो र गुमाउनु परेको पनि छैन। सबभन्दा ठूलो कुरा पुर्खाको जमिन सजाउन पाएको छु। २४ घन्टा नर्सरीमा खट्नु परे पनि अहिलेजस्तो सन्तुष्टि जीवनमा कहिल्यै मिलेन।’

आचार्यले नर्सरी सुरू गर्नुअघि धेरै ठाउँमा काम गरेका थिए। तुलसीपुरकै नाम चलेका बोर्डिङमा पढाउँथे। गैरसरकारी संस्थामा पनि काम गरे। व्यापारमा हात हाले। उनलाई कतै पनि भनेजस्तो सन्तुष्टि मिलेन। अन्तिममा बैंकको जागिर छाडेर सात वर्षअघि उनी यो बारी सजाउन थालेका हुन्।

नर्सरी हुर्काउन उनी एक्लैको पसिना बगेको छैन। उनकी श्रीमतीले यहाँका बोटलाई उत्तिकै स्याहारेकी छन्।

‘बाहिर काम गर्नु, पैसा कमाउनु मात्र ठूलो कुरा होइन। परिवारसँगै मिलेर आफ्नो रूचिको काम गरूँ भनेर जागिर छाडेर घर फर्किएको हुँ,’ उनले भने।

बारी सिँगार्न उनले भित्रै फाउन्टेन, हिँड्ने बाटो र टनेलहरू बनाएका छन्। बारीमा काम गरे बुढो हुँदासम्म शरीरलाई सक्रिय राख्न पाइएला भन्ने उनलाई लाग्छ। हात-खुट्टा चल्दासम्म बोट र माटोसँगै खेलेर जीवन बिताउने मन भएको उनले सुनाए।

यो नर्सरी दर्ता गरेको चार वर्ष भयो। नगरपालिका, कृषि कार्यालय, वन कार्यालय, घरेलु उद्योगमा दर्ता गरेको र प्यान नम्बर पनि लिएको उनले जानकारी दिए। उनीहरू विद्यालय, भवन र संघसंस्थाका कार्यालयमा बगैंचा सजाइदिने काम पनि गर्छन्। शान्तिनगर गाउँपालिका-७ को वडा कार्यालय भवन उनैले सजाएका हुन्। अरू निजी घरका अर्डर पनि आउँछन्।

आचार्यका अनुसार बगैंचा डिजाइन र त्यसमा लाग्ने बिरूवाको छुट्टै पैसा लाग्छ। डिजाइनका लागि दक्ष कालिगड ज्यालामा ल्याउँछन्। आचार्य आफैंले पनि डेढ वर्षअघि भारत, कलकत्ता पुगेर बगैंचा डिजाइन तालिम लिएका थिए। त्यस्तै ललितपुर, गोदावारीमा दुई महिनाअघि फ्लोरीकल्चर सम्बन्धी तालिम पनि लिए। सजावटमा आवश्यक पर्ने फाउन्टेनहरू उनी आफैं तयार पार्छन्। यसरी बोटबिरूवाको कामबाटै उनले आयको दायरा फराकिलो बनाएका छन्।

उनी भन्छन्, ‘बिरूवा बेच्नु मात्रै मेरो उद्देश्य होइन। यो धर्तीलाई कसरी सजाउने भन्ने कुरा महत्वपूर्ण हो। यहाँका मानिसको व्यवहार परिवर्तन गराउँदै यसलाई एग्रो टुरिजमका रूपमा विकास गर्नु पनि हो।’