हाम्रो देश
१२ असार २०७९, आइतवार

रौतहटमा जेठ १३ सम्म निषेधाज्ञा लम्ब्याइयो

रौटहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दोस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी भोलि राति १२ बजेदेखि लागू हुनेगरी जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न बैठकले जेठ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

रौतहटका सिडिओ इन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले सो अवस्था रोकथामको लागि निषेधाज्ञा गरिएको जानकारी दिए । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । सवारीका साधन संचालनमा समेत रोक लगाउने प्रशासनले निर्णय गरेको छ । अत्यावश्यक सुचीमा रहेको एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न,तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी संचालन गर्न दिइने छ ।

त्यसैगरी बैंक तथा वित्तिय संस्था, दुरसंचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा, लगायतका ढुवानी तथा यातायातका साधन समेत विषय उल्लेख गरी संचालन गर्न पाईने छ ।

पसल तथा हाटबजार तत्काललाई संचालनमा ल्याउन नपाइने रौतहट प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । होटल तथा रेष्टुरेन्ट, जीमखाना,पार्लर,शैक्षिक संस्था,ट्युसन सेन्टरहरु पुर्णरुपमा बन्द गराउन निर्देशन दिईएको छ।

सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयले आलोपालो काम सुचारु गर्ने भनिएको छ । विवाहमा बढीमा १५ जना दुई गाडीमा बेहुला,बेहुली सहित ब्यानर राखेर हिँड्न पाइने छ । प्रशासनले संक्रमण दर बढ्दै गएकाले निषेधाज्ञाको आदेश कडाइका साथ पालना गर्ने र गराउने गरी निषेधाज्ञा जारी गरिएको जनाएको रौतहट प्रहरी प्रमुख एसपी सिद्दी बिक्रम शाहले जनाए । निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक सेवा र कामकाज बाहेक पैदलयात्री हिँडडुल गर्न पाइने छैन ।

रौतहटमा कोरोनाको कारण ६१ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ८३६ पुगेको छ । सो मध्ये ६७६ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ ।