हाम्रो देश
९ असार २०७८, बुधवार

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नमाथि कारवाही हुन्छ : मुख्यमन्त्री पोखरेल

बुटवल, जेठ १४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनामा निष्पक्ष छानविन गरी दोषीमाथि कार्वाही गर्ने बताउनु भएको छ । बिहीबार बेलुकी ८ बजे कोरोना संक्रमित बिरामीको मृत्युपछि आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए।

आज बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ। निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही हुनेछ।’

घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो। उहाँलाई कोरोना देखिएको थियो। उहाँको मृत्यु भएपछि उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए।

उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ। जुनसुकै दल वा समुहमा आवद्ध रहेपनि सो घटनामा संलग्नमाथि कार्वाही गर्ने मुख्यमन्त्री पोखरेलले प्रष्ट पार्नुभएको हो ।