हाम्रो देश
९ असार २०७८, बुधवार

बाँकेमा उपचारका क्रममा थप चार संक्रमितको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक बाँके, बर्दिया र कैलालीका हुन् । बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ६ का ४२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई १७ गते भर्ना गरिएको थियो ।

यस्तै बढैयाताल गाउँपालिका वडा नम्बर २ का ४५ वर्षीया महिलाको भेरी अस्पतालमै मृत्यु भएको छ । जेठ ९ गते पीसीआर गरिएका उनलाई १० गते भर्ना गरिएको थियो । कैलाली टीकापुर नगरपालिका वडा नम्बर ८ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई १३ गते भर्ना गरिएको थियो ।

यसैगरि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ७० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो । योसँगै बाँकेमा २ सय ९४ जना र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा २ सय ९० जनाको मृत्यु भएको छ ।