हाम्रो देश
९ असार २०७८, बुधवार

ल्यामबर्गिनी कारमा जब बार्बिक्यु गरियो

गत मे २९ तारिखमा एक चिनियाँ व्यक्तिले आफ्नो साथीसँग मिलेर बार्बिक्यु गर्ने योजना बनाए। तर केही भिन्न तरिकाले। उनीहरू बार्बिक्यू गर्न अन्डरग्राउन्ड गाडी पार्किङमा गए। त्यहाँ भएको आफ्नो ल्याम्बर्गिनीको इन्जिनबाट बार्बिक्यु गर्नमा लागे। तर सोचे जस्तो भएन।

बार्बिक्यु गर्न खोजेको केही समय मै गाडीको इन्जिनबाट धुँवा आउन थाल्यो। एक चिनियाँ युट्युबमा सार्वजनिक गरिएको भिडिओमा कसरी ती चिनियाँहरूले बार्बिक्यू गर्न खोजे र त्यसपछिको घटना देखाइएको छ।

सोहु डट कम वेभसाइटका अनुसार यो घटना हुआनको चासांग सहरमा भएको हो। जम्मा १५ मिनेटको भिडिओ बनाउने लोभमा ती चिनियाँले आफ्नो गाडी नै बिगारे। भिडिओ हेर्दा दुई जना साथी बार्बिक्यू गर्न पार्किङमा पुगेको देखिन्छ। जसमध्ये एक जनाले भिडिओ खिचे। र, अर्का व्यक्ति जो सम्भवत गाडी धनी हुन्, उनी भने मासु ग्रिल गर्नतिर लागे।

सुरूमा ती दुवै जना खुशी देखिएका छन्। तर पछि गाडीबाट धुँवा आउन थालेपछि आत्तिन्छन्। धुँवा आएको केहि बेरमा गाडीबाट रातो कुल्यान्ट लिक्विड पनि बग्न थालेको भिडिओमा देख्न सकिन्छ।

गाडीको त्यस्तो हालत भएपछि ती चिनियाँले पछि ५ लाख युआन (नेपाली ९१ लाख १० हजार रुपैयाँ) मा गाडी मर्मत गरेको टुडे अनलाइनले रिपोर्ट गरेको छ। धेरैले ल्यामबर्गिनीमा बार्बिक्यू गर्न खोज्नु नै मुर्खता भएको भन्दै सामाजिक संजालतिर उनीहरूको आलोचना समेत गरिरहेका छन्।

ल्यामबर्गिनी एभेन्टेडर्सको टप स्पीड २ सय १७ माइल्स प्रति घण्टाको छ। यो एक स्पोर्ट कार हो। चिनियाँ बजारमा यसको मूल्य झन्डै २० लाख युआन पर्छ। यो भनेको नेपाली झन्डै ३ करोड ६५ लाख हो।