हाम्रो देश
९ असार २०७८, बुधवार

अस्पतालका सुरक्षा गार्डले ‘डाक्टर हुँ’ भनेर बिरामीको सर्जरी गरेर पैसा लिए, बिरामीको मृत्यु

काठमाडौं। ठूला अस्पतालमा बिरामीको उपचार राम्रो हुन्छ भन्ने धेलैलाई लाग्छ । तर, ठूलो अस्पतालमा कुन हदसम्म लापरवाही हुन सक्छ भन्ने कुरा पछिल्लो एक घटनाले देखाएको छ । पाकिस्तानको एक ठूलो अस्पतालमा त्यहाँका पूर्व सुरक्षा गार्डले आफूलाई डाक्टर बताएर एक बिरामी महिलाको सर्जरी गरे । सर्जरीको २ हप्तापछि ती महिलाको मृत्यु भयो ।

पाकिस्तानको लाहोर सहरको अस्पतालका पूर्व सुरक्षा गार्ड मुहम्मद वाहिद बटले आफूलाई डाक्टर बताएर ८० वर्षकी महिला शमिमा बेगमको पिठ्युँमा लागेको चोटको सर्जरी गरेका थिए । लाहोरको मायो अस्पतालका एक प्रशासनिक अधिकारीले आफ्नो नाम नखुलाइ द गार्डियनसँग भने ‘हामीले हरेक समय प्रत्येक डाक्टर र अनय कर्मचारीले के गरिरहेका छन् भन्ने जानकारी राख्न सक्दैनौं । यो ठूलो अस्पताल हो ।’

ती अधिकारीका अनुसार ती सुरक्षा गार्डले कस्तो किसिमको सर्जरी गरे भन्ने प्रस्ट छैन । सर्जरीका बेला अपरेशन थिएटरमा उनको साथमा एक योग्य प्राविधिक पनि थिए । पाकिस्तानका सरकारी अस्पतालमा बिरामीले उपचारको पैसा तिर्नुपर्छ । बेगमको परिवारले पनि ती सुरक्षा गार्ड बटलाई अपरेशन र २ पटक ड्रेसिङको लागि घरमै आएवापत पैसा दिएका थिए ।

महिलाको रक्तस्राव र दुखाइ बढ्दै गएपछि परिवारले महिलालाई पुनः अस्पताल ल्याएका थिए त्यसपछि मात्रै उनहिरुले अस्पतालमा के भएको थियो भन्ने थाहा पाए । महिलाको अस्पतालमा मृत्यु भयो । महिलाको शवलाई पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ ताकि उनको मृत्युको कारण त्यही सर्जरी थियो वा थिएन भन्ने पुष्टि गर्न सकियोस् ।

‘गार्डमाथि मुद्दा चलाइएको छ र अहिले पुलिस नियन्त्रणमा छन्’ लाहोर पुलिसका प्रवक्ता अली सफदरले भने ‘बटले यसअघि पनि आफूलाई टाक्टर बताएर अरु बिरामीको घरमा पनि होम भिजिट गरेका थिए ।’ मायो अस्पतालका स्टाफका अनुसार बटलाई २ वर्षअघि बिरामहिरुबाट पैसा असुल्न प्रयास गरेको पाइएपछि कामबाट निकालिएको थियो ।