हाम्रो देश
९ असार २०७८, बुधवार

महेश बस्नेतलाई मन्त्री बनाउन माग गर्दै युवा संघ नेपालको टोली बालुवाटारमा

काठमाडौं– राष्ट्रिय युवा संघ नेपालको टोली संघका पूर्वअध्यक्ष महेश बस्नेतलाई मन्त्री बनाउन माग गर्दै बालुवाटार गएको छ । संघका अध्यक्ष किरण पौडेल नेतृत्वको टोली मन्त्रिपरिषद् पुनर्गठनमा बस्नेतलाई समावेश गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन गएको हो । ‘एमालेबाट युवाहरुको प्रतिनिधित्व भएन,’ पौडेलले पाथिभरा न्युज डट कमसँग भन्नुभयो, ‘हामी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन आएका छौं । आशा छ युवाहरुको आवाजलाई सम्बोधन गर्नुहुनेछ ।’

युवा संघका करिव एक दर्जन नेताहरु बालुवाटार पुग्नुभएको छ । जनता समाजवादी पार्टीलाई गठबन्धनमा ल्याउन भूमिका खेल्नुभएका बस्नेत गृहमन्त्री हुने आशयका समाचार प्रकाशन हुँदै आएका थिए ।

महेश बस्नेत ओलीसँग रुष्ट, गुट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनका विश्वासपात्र भनिएका महेश बस्नेत रुष्ट भएका छन् । गृहमन्त्रीको दौडमा रहेका बस्नेतलाई रोकेपछि रुष्ट भएका हुन् । बस्नेतले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीका केही सल्लाहकारका कारण रोकेको भन्दै गुट परिवर्तनसम्मको चेतावनी दिएका छन् । उनले विष्णु रिमाल र राजन भट्टराईलाई उचित समयमा देखाइदिने चेतावनी समेत दिएको बुझिएको छ ।

गृहमन्त्रीको मुख्य दाबेदार बस्नेत आक्रोशित भई निकटस्थसँग छलफलमा रहेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार बस्नेतले योगदानलाई महत्वहीन ठान्न थालिएको भन्दै गुट परिवर्तनसम्म गर्न सक्नेबारे छलफल गरेको बुझिएको छ ।

बस्नेतले ओलीको सत्ता टिकाउन जोखिम मोलेर भूमिका खेलेको भन्दै गृहमन्त्री दाबी गर्दै आएका थिए । उनको गृहमन्त्री बन्ने चर्चा पनि थियो । तर, ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेपछि बस्नेत रुष्ट भएका हुन् ।

प्रधानमन्त्री ओलीको सत्ता संकट टार्न बस्नेतले जनता समाजवादी पार्टीका सांसदहरुलाई डोलेश्वर रिसोर्टमा व्यवस्थापन गर्ने देखि साथमा ल्याउन भूमिका खेलेका थिए । उनले एक वर्ष अघि तत्कालीन समाजवादी पार्टी नेपाल विभाजनका लागि असफल भूमिका खेलेका थिए । डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट ल्याउँदा उनीमाथि अपहरणको सम्म आरोप लागेको थियो ।

२०७४ सालको आमनिर्वाचनमा बर्दियाबाट बामदेव गौतमलाई चुनाव हराउन महेश बस्नेतले भूमिका खेलेको आरोप समेत लागेको थियो । गौतमलाई चुनाव हराएपछि ओलीका लागि प्रधानमन्त्री पद सहज भएको थियो । बस्नेतले ओलीलाई अप्ठ्यारो समयमा पनि साथ दिदै आएका छन् । जुझारु बनेर ओलीको पक्षमा भूमिका खेल्दै आएका छन् ।