हाम्रो देश
२१ साउन २०७८, बिहिवार

विराटनगरका विशाल भारतमा सिए टपर

विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजमा अध्ययन पुरा गरेका एक विद्यार्थीले भारतमा चार्टर्ड एकाउन्टेन्ट (सिए) मा भारतकै उत्कृष्ट (टपर) भएका छन् ।ग्रिनल्याण्ड कलेजबाट अध्ययन पुरा गरेका विशाल तिम्सिनाले भारत कै सर्व उत्कृष्ट हुन सफल भएका हुन् ।

तिम्सिनाले ग्रिनल्याण्डमा २०७१-०७२ सालमा अध्ययन पुरा गरेर भारतको चेन्नाई अध्ययनका लागि गएका थिए । विशाल तिम्सिनाले सन् २०२१ मा भएको सिएको फाइनल परिक्षामा भारतकै पहिलो ‘र्याङ्किङ’मा टप गरेका हुन् ।विशाल सिएमा भारतकै टप गर्ने पहिलो नेपाली विद्यार्थी रहेको ग्रिनल्याण्डका प्रिन्सिपल दिपक पोखरेलले दावी गरे ।

पोखरेल भन्छन, ‘यसले विराटनगरका विद्यार्थी अब्बल छन् भन्ने प्रमाणित गरेको छ ।’कलेजका निर्देशक दिनेश दाहालले नेपालकै शैक्षिक हवका रुपमा परिचित विराटनगरको गुणस्तर विशालको नतिजाले पनि पुष्टि गरेको बताए । उनले भने,‘ हामीले प्रदान गरेको शैक्षिक गुणस्तर विशालले प्रमाणित गरिदिएका छन्, उनको उज्वल भविष्यको कामना गर्दछु ।’ पछिल्लो समय शैक्षिक गुणस्तरमा सचेत रहँदै आएको ग्रिनल्याण्डले प्लस टु का विज्ञान, कम्प्युटर , व्यवस्थापन र होटेल मेनेज्मेन्ट संकायमा अध्यापन गराउँदै आएको छ ।