हाम्रो देश
२१ साउन २०७८, बिहिवार

एमबिबिएस पढ्दै गरेका दीपकिरणको कथाः रोगले बुवा गुमाए, बाढीले घर–खेत

काठमाडौं– ‘घर, खेत बाढीले बगाएको भन्दा पनि बुवाको मृत्युको आलै घाउले मन बढी पोल्छ, बुवा हुनुभएको भए सबै जिम्मेवारी आफ्नै थाप्लोमा हुँदैन थियो,’ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोक गाउँका दीपकिरण खड्का मलिन स्वरमा बोले।

पाँचमुरेमा रहेको दीपकिरणको घर असार १ गते अघिसम्म मकै र धानखेतीको बीचमा चिटिक्क देखिन्थ्यो। असार १ गतेको वर्षापछि मेलम्ची खोलामा आएको बाढीले दीपकिरणको घर डुवानमा पर्‍यो। असार ३ गते फेरि आएको बाढीले डुवानमा परेको दीपकिरणको चिटिक्कको घर बगायो।

घरखेत बगाएपछि अहिले दीपकिरणसँगै उनकी आमा र भाइ आफन्तको घरमा बसेका छन्।

२५ वर्षीया दीपकिरणको बुवाको मृत्यु भएको एक महिना पुगेको छैन। गत जेठ ८ गते उनका बुवाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। ५५ वर्षीया बुवा रामबहादुरलाई प्याङ्क्रियाजको समस्या थियो।

बुवाको मृत्युको घटनाले मनमा लागेको घाउ निको नहुँदै दीपकिरणको जीवनमा अर्को बज्रपात आइपर्‍यो। बुवा गुमाएको एक महिना नबित्दै दीपकिरणले आफ्नो घरखेत पनि गुमाए।

तर पनि उनले आफू र आफ्नो परिवारलाई सम्हालेका छन्। बाढीले बगाएको घर–खेत भन्दा पनि उनलाई बुवाको सम्झनाले बढी सताउँछ।

‘घरखेत र सम्पत्ति त पछि कमाउन पनि सकिन्छ, घरखेत बगाएकोमा भन्दा पनि बा बित्नुभयो, त्यो कुराले मन खड्किन्छ,’ उनले भने, ‘बा हुनुएको भए, अब गर्ने कसरी बस्ने सबै कुरामा बाले सोच्नुहुन्थ्यो।’

बाढी आउँदैछ भन्ने थाहा पाएर ज्यान जोगियो, एकजना आफन्त बेपत्ता

दीपकिरणको घर भएको पाँचमुरेमा उनका दुईजना काकाको पनि घर थियो। मंगलबार साँझ बाढी आउँदैछ भन्ने खबर दीपकिरणका काकाहरुले पाइसकेका थिए। तर, अघिल्ला वर्षहरुमा जस्तै सामान्य बाढी होला भन्ने सोचेका थिए सबैले।

उनीहरुको माछाफार्म थियो। सबैजना माछा फार्मलाई बाढीको पानीबाट कसरी जोगाउने भन्नेतर्फ केन्द्रित थिए। दीपकिरण पनि आफ्नो फार्मको माछाको स्याहारमा नै लागेका थिए। केही समयमै खबर आयो, ‘हेलम्बु बजारको मोटरेबल पुलसम्म नै बाढी पुगिसक्यो।’

पुलसम्म नै बाढी पुगिसकेको भन्ने जानकारी पाएपछि खोलापारी भएका छिमेकी दिदीहरुले खबर गरे। बाढी ठूलो आएको छ भन्ने जानकारी पाएपछि उनले भाइहरुलाई घरभन्दा माथि पठाए।

दीपकिरण पनि घरभन्दा माथि जाने तयारी गर्दै थिए, खोलामा आएको बाढीको गड्गडाहट झन् चर्को हुँदै गयो। त्यसपछि उनी घर छाडेर दौडिए। बाढी बढ्दै गएको देखेपछि दीपकिरणका काकाहरु दौडिए। छरछिमेकामा एकाएक कोलाहल मच्चियो।

‘कहिल्यै नआएको बाढी यसपालि आयो, एकैमिनेटमा डरलाग्दो अवस्था देखियो। काकाहरुले बल्लतल्ल ज्यान जोगाउन सफल हुनुभयो,’ दीपकिरणले भने, ‘एकमिनेट मात्र ढिलो गरेको भए म पनि बाँच्दिन थिए होला, एक मिनेटको अन्तरमा म बाढी भन्दा माथि पुगे, तर हाम्रो माइली हजुरआमा बेपत्ता हुनुभयो।’

दीपकिरणको घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ। घर बगाइसकेकाले घरको आकृति नै देखिँदैन। गोठको केही भाग भने बाँकी छ।

बाढीले घरखेत नै बगाए पनि दीपकिरण विचलित भएका छैनन्।

एमबिबिएसको पढाइ परा गर्ने सपना
बुबाको मृत्यु, बाढीले घरखेत बगाएको पीडाका बीच आफ्नो र भाइको पढाइको विषय पनि चिन्ताको विषय बनेको छ दीपकिरणलाई।

चीनमा एमबिबिएसको अध्ययन गरिरहेका दीपकिरण डेढ वर्षदेखि नेपालमै छन्।

अघिल्लो वर्षको जाडो बिदामा नेपाल आएका उनी कोरोना संक्रमणका कारण फर्किन पाएका छैनन्।

हाल एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत दीपकिरणको अनलाइन माध्यमबाटै पढाइ चलिरहेको थियो।

जेठमा परीक्षा थियो, तर बुवाको काजकिरियाले गर्दा परीक्षा दिन सकेनन्। गत असार १ गते उनले परीक्षा दिँदै थिए। तर, त्यही दिन आएको बाढीले घरखेत नै बगाइदियो।

‘बा बितेकै दिन परीक्षा थियो, परीक्षा दिनै सकिन, त्यो समयमा दुईवटा विषयको परीक्षा छुट्यो,’ उनले भने, ‘गत मंगलबार पनि परीक्षा थियो, त्यो दिन त दिए, त्यसपछिको परीक्षा दिनै पाएको छैन।’

छात्रबृत्तिमा चीनको मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका उनलाई घर बनाउँदा र भाइको पढाइ खर्चको ऋणको भारी छ।
तर, उनले आफ्नो मनलाई सम्हाल्दै आएका छन्।

‘बसिरहेको घरमा त बस्न मिल्ने अवस्था छैन, घर बगाएको छ, अब जेजे हुनु भइसक्यो, चिन्ता लिएर मात्र त्यो घर फर्किएर आउँदैन,’ उनले भने, ‘खोला भन्दा माथि नै फाँटमा पनि जग्गा छ। त्यहीँ फेरि घर बनाउनु पर्छ भन्ने सोच छ।’

आफ्नो र भाइको पढाइ बाँकी नै भएकाले आमाको लागि बस्ने व्यवस्था गरेर पढाइमा केन्द्रित हुने दीपकिरणको योजना छ।

‘बुबा बित्नुभएको एक महिना हुनलाग्यो, मेरो र भाइको पढाइ अझै बाँकी छ। हामी पढ्न जानुपर्छ, त्यसैले अब मम्मीलाई बस्न मिल्ने एउटा घर बनाइदिन पाए ढुक्क हुन्थ्यो भन्ने लागेको छ,’ दीपकिरणले भने, ‘सरकारले पनि घर बनाउन सहयोग गर्छ कि भन्ने आसा छ, नभए पनि मम्मीलाई तत्कालका लागि बस्ने ठाउँ त बनाउनै पर्छ।’

छात्रवृत्ति पाएकाले आफ्नो पढाइको भने त्यति धेरै चिन्ता छैन उनलाई। तर भाइको पढाइ खर्चका लिएको ऋणको भारी भने उनकै थाप्लोमा आइलागेको छ। तर पनि उनी आशावादी देखिन्छन्। ‘घरखेत डुवानमा पर्‍यो, १५–२० लाख ऋणतिर्नुछ,’ उनले भने, ‘पढ्दै छु पछि कमाएर तिरौंला नि।’ swasthyakhabar.com बाट