हाम्रो देश
६ कार्तिक २०७८, शनिवार

दश वर्षपछि सल्यान फर्किए राउटे

सल्यान, असार १० गते । जंगलमा घुमन्ते जीवन बिताउँने राउटे समुदाय दश वर्ष पछि सल्यान आएका छन् । विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे दश वर्ष अघि यहाँबाट अन्य जिल्ला गएका थिए ।

सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदि किनारमा बस्दै आएका राउटे समुदाय मंगलबार कालीमाटी गाउँपालिका ५ काल्चेडाँडामा बस्तीमा आएका छन् । लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय करिब अहिले १ सय ५० जना मात्र रहेका छन् । कृषि उद्यम नगर्ने घुमन्ते राउटेहरू अन्य गाउँबस्तीका मानिसहरूसँग बस्तु विनिमय गरेर आफ्नो लागि अन्नको जोहो गर्ने गर्दछन् । जंगलमा बसोबस गर्ने राउटेहरू पछिल्लो समय भने गाउँबस्ती नजिक बस्न थालेका छन् ।

कालिमाटी गाउँपालिका ५ काल्चेमा बसेका राउटेहरुलाई खाद्यान्न र खानेपानीको ब्यवस्था गाउँपालिलकाले गरेको छ । पछिल्लो समय राउटे युवती माथि दुब्यवहार भएपछि राउटे बसोबास रहेका आसपासमा मदिरा विक्रि वितरणमा रोक लगाएईको कालिमाटी गाउँपालिका प्रशासकीय अधिकृत हरिवहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार राउटे वस्तिको सुरक्षाकालागि प्रहरी समेतको ब्यवस्था गरिएको छ ।

राउटे वस्तिमा खानेपानीको समस्या भएकाले पानी आपूर्तिका लागि गाउँपालिकाले आवश्यक पाईपको ब्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष दानवहादुर केसीले राउटे समुदायलाई आवश्यक पर्ने रकम समेत उपलब्ध गराइएको वताउनुभयो ।सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँइले राउटेवस्तिमा आवश्यक सुरक्षा मिलाइएको वताउनुभयो ।