हाम्रो देश
२१ साउन २०७८, बिहिवार

प्रधानमन्त्री ओलीलाई मेयरले नचिनेपछि…

गौर । शुक्रबार बेलुका साढे बजेतिरको कुरा हो । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहलाई एक अन्जान नम्बरबाट फोन आयो । कसैले काम परेर नै गर्यो होला भनेर मेयर साहले फोन उठाइन् । उताबाट कुनै औपचारिकता बिनै प्रश्न सोधियो, “के छ खबर ?”

चिनजान नै नभएको व्यक्तिले एकैचोटि यस्तो प्रश्न सोधेपछि मेयर साहलाई असहज लाग्यो । उनले पहिला को व्यक्ति हो भनेर जान्ने प्रयास गरिन् । तर फोनमा रहेको अपरिचित व्यक्तिले दुई तीन पटक “के छ हाल खबर ?” मात्र भनिराखे । अनि मेयर साहलाई रिस उठ्यो । कसैले परेशान गर्न फोन गरेको होला भनेर उनले अलि झर्केरै “को हो तपाई, किन फोन गर्नुभएको ?” प्रश्न गरिन् । अनि फोनमा रहेको अपरिचित व्यक्तिले भने, “म केपी शर्मा ओली ।”

मेयर साहलाई यो मजाक जस्तो लाग्यो । उनले आफ्नो आसपासमा “को होला केपी शर्मा ओली” भनेर सोच्न थालिन् । त्यतिकैमा उत्ताबाट फेरी आवाज आयो ” म केपी शर्मा ओली बोलेको के, मलाई चिन्नुहुन्न कि क्या हो ?” मेयर साहले “केपी शर्मा ओली त प्रधानमन्त्रीज्यू हुनुहुन्छ । तपाई को हो त्यो भन्नुस न” जवाफ फर्काइन् । अनि ती व्यक्तिले भने “म प्रधानमन्त्री नै बोल्दैछु ।”

यो जवाफ मेयर साहको लागि अप्रत्यासित थियो । उनलाई लागेकै थिएन् कि स्वयम् प्रधानमन्त्रीले उनलाई फोन गर्छन् भनेर त्यही भएर उनले सुरुमा उक्त फोनलाई मजाकका रुपमा बुझेकी रहिछन् । प्रधानमन्त्री ओलीले मेयर साहसँग करिब १५ मिनेटको फोनवार्ताको क्रममा स्थानीय राजनीति, मौलापुर नगरको विकास, बाढी डुबान लगायतको विषयमा चासो राखेका थिए ।