हाम्रो देश
२१ साउन २०७८, बिहिवार

आफ्नो घर छोड्न कोही चाहँदैन, तर अपमान सहेर बस्ने कुरा पनि हुँदैनः नेता नेपाल

काठमाडौँ – कमीकमजोरी हटाएर शुद्धीकरण गरि पार्टीलाई नयाँ ढंगबाट अघि लैजाने जिम्मेवारी अहिले आफूहरुको काँधमा रहेको नेकपा एमालेका नेता माधवकुमार नेपालले बताएका छन् ।नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान पुष्पलाल स्मृति पार्क चम्पादेवीमा भएको कार्यक्रममा नेता नेपालले भने, ‘नयाँ समाज निर्माण गर्ने सोचबाट अगाडि बढ्न सक्नुपर्छ । सबै कुरोको केन्द्र बिन्दु जनता नै हुन यसमा संवेदनशील हुनुपर्छ। सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्छ त्यो आँट र शाहस चाहिन्छ । पार्टी भित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनुपर्छ ।’

उनले अघि भने, ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ। जनताको पार्टी बन्न सक्नुपर्छ। एमालेलाई पनि त्यही बाटोमा लैजानुपर्छ । नेतृत्व सुध्रिने चाहन्छ भने ठिक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन। नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ। असम्भव भन्ने केही हुँदैन मानिस आफ्नो लक्ष्य विचार र दृष्टिकोणमा अगाडि बढेर गयो भने।’

गलत कुरालाई सहेर बसेमा दास प्रवृत्ति मौलाउने उनले बताए । उनले भने, ‘कम्युनिष्ट दास हुन सक्दैन। अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन। त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ । हावादारी कुरोले केही परिवर्तन हुने वाला छैन । आन्दोलनलाई नयाँ हिसाबले लैजानुपर्छ । कम्युनिष्ट पार्टीको काँधमा ठूलो दायित्व आएको छ।’

कम्युनिष्ट पार्टीमा नेता नभई नीति प्रधान हुने उनले बताए । उनले भने, ‘अहिले जुन बाँदर जुलुस लगायतका गतिविधि भैरहेको छ, यो अराजकता प्रस्तुत भैरहेको छ। यसले राम्रो गर्दैन । हामी अझै पनि एकताबद्व एमाले चाहिँ रहेका छौँ ।’ उनले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको प्रमुख प्राथमिकता भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताए । हावादारी भन्दा अध्ययनमा आधारित विकासका काम हुनु पर्ने उनले बताएका छन् ।