हाम्रो देश
२१ साउन २०७८, बिहिवार

काँग्रेसबाट मन्त्री बन्‍नेहरूको सूची तयार, गगन थापा अटेनन्

सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको प्रारम्भिक सूची तयार पारेको छ । यसअगाडि मन्त्रीको लाइनमा पूर्व मन्त्री गगन थापाको नाम आएता पनि अहिलेको प्रारम्भिक सूचीमा उनको नाम अटेको छैन । नेपाली काँग्रेसभित्र रहेका विभिन्न गुट उपगुटका कारण मन्त्रीहरूको नामावली टुङ्गो लगाउन समय लागेको हो । अहिले सार्वजनिक भएको प्रारम्भिक सूचीमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्कासहित अन्य नेताहरूको छलफलबाट तयार भएको हो । यो सूची नै अन्तिम सूची भने होइन ।

सार्वजनिक भएको सूची अनुसार प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको समूहबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर मन्त्री बन्ने सम्भावना बढेको छ । त्यस्तै काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाको समूहबाट सञ्जयकुमार गौतम, अर्का महामन्त्री खड्काको समूहबाट काँग्रेस सचेतक पुष्पा भुसाल, वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट राजन केसी र कृष्णप्रसाद सिटौलाको समूहबाट भीमसेनदास प्रधान मन्त्री बन्ने सम्भावना बढेको हो ।

गगन थापा सिटौला समूहमा छन् । उक्त समूहले एउटा मात्रै मन्त्री पाउने भएपछि उमेर र योगदानको हिसाबले थापाको नाम मन्त्रीमा नरहने पक्कापक्की भएको काँग्रेस उच्च स्रोतले केटिएम दैनिकलाई बतायो ।

पौडेल समूहको सोमबार काठमाडौँमा बसेको उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय आफूले पाउनुपर्ने अडान राखेको राखेको समाचार यसअगाडि केटिएम दैनिकमा प्रकाशित भैसकेको छ । मन्त्रालयको भागबन्डा मिलाउन नसक्दा मन्त्रिमण्डल बिस्तारमा ढिलाइ भइरहेको छ । जसपाका ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिएपछि उक्त समूहलाई समेत मन्त्रालयको भागबन्डा मिलाउनुपर्ने भएको छ ।

गठबन्धनको सरकार भएकोले काँग्रेसले ६ मन्त्रालय पाउने लगभग पक्का जस्तै छ । यसअघि नै प्रधानमन्त्री देउवाले आफ्नै समूहका नेता बालकृष्ण खाँणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाइसकेका छन् ।