हाम्रो देश
२१ फाल्गुन २०७७, शुक्रवार

बालुवाटारको जग्गा प्रकरणमा उम्केका बाबुराम भट्टराई मातातीर्थको १७४ रोपनी जग्गामा तानिने

काठमाडौं । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिएपछि यसको चौतर्फी आलोचना हुँदै आएको छ । स्वयं बाबुरामले पनि सार्वजनिक रूप मै अख्तियारको निर्णयको आलोचना गरेका छन् । उनले आफूले गल्ती गरेको भए सजाय बेहोर्न तयार रहेको स्पष्टसमेत पारिसकेका छन् ।

एउटै क्याबिनेटले गरेको उही निर्णयमा मन्त्रीलाई मुद्दा चल्ने, तर प्रधानमन्त्रीलाई चोख्याउने अख्तियारको प्रवृत्ति देखिएको भन्दै सर्वसाधारण समेत आ’क्रोशित भइरहेका छन् । यस्तो अवस्थामा बाबुराम भट्टराई भने काठमाडौंमै बालुवाटारको भन्दा पनि बढी सरकारी जग्गा व्यक्तिको नाममा पारेको विषयमा तानिने भएका छन् । थानकोट, मातातीर्थ र सतुंगलमा ७८ वटा कित्तामा रहेको नेपाल ट्रष्टको १७४ रोपनी मूल्यवान जग्गा मोही भन्दै व्यक्तिको नाममा कायम गरिएको छ ।

जसको अहिलेको बजारभाउ तीन अर्बभन्दा बढी पर्छ । व्यक्तिका नाममा दर्ता गरिएका अधिकांश जग्गामा अहिले निजी घर बनि सकेका छन् । २०६९ भदौ २५ गते मन्त्रि परिषदको निर्णय अनुसार ट्रष्टको जग्गा व्यक्तिको नाममा कायम गरेको मालपोत कार्यालयको भनाइ छ । २०६९ भदौ ११ गते मन्त्रिपरिषदमा नेपाल ट्रस्टका नाममा दर्ता भएका तत्कालीन राजपरिवारका सदस्यको नाममा रहेका साविकका फर्मायसी विर्ता जग्गा सम्बन्धित मोहीका नाममा दर्ता गर्ने प्रस्ताव पेश भएको देखिन्छ ।

प्रधानमन्त्री कार्यालयले पेश गरेको प्रस्तावमा विधेयक समितिको निर्णयअनुसार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । त्यतिखेर डा.बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।नेपाल ट्रष्ट ऐनले ट्रष्टको जग्गाको स्वामित्व मन्त्रिपरिषद्को निर्णयबाट हस्तान्तरण गर्न मिल्ने अधिकार दिएको छैन । भट्टराईले कानुनविपरीत किन निर्णय गरे ? यसबारे प्रधानमन्त्री कार्यालय र भूमि व्यवस्था मन्त्रालयले नेपाल ट्रष्टलाई अझै जानकारी गराएका छैनन्।

१७४ रोपनी जग्गा व्यक्तिका नाममा गरिएको निर्णयबारे बाबुरामले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । यो विषयमा अख्तियारले अनुसन्धान गरि रहेको बताइएको छ । यदि सरकारी जग्गा व्यक्तिको नाममा गरिँदा आर्थिक लेनदेन भएको फेला परेमा बाबुराम कारबाहीको दायरामा पर्न सक्ने स्रोतले बतायो ।

प्रतिकृया दिनुहोस्