हाम्रो देश
१६ फाल्गुन २०७७, आइतवार

दुई दशकदेखिको चलनचल्तीको बाटो भत्काइयो, बालबालिकालाई सास्ती

२ दशकदेखि चलन चल्तीमा रहेको कपिलवस्तु नगरपालिका वडा नं ४ अन्तर्गत पिपरी डालपुर ग्राभेल सडक जेसिबी लगाएर भत्काइएपछि स्थानीयले सास्ती पाएका छन् । सडक बनाउँदा आफ्नो मात्र जग्गा पारेको भन्दै डालपुर ग्राभेल सडक स्थानीय पारस बढईले जेसिबि लगाएर भत्काएका हुन् ।उनले डेढ महिनाअघि उक्त सडकको ३० मिटर जति बाटो भत्काइदिएका हुन् ।

अहिले बाटोका दुबैतर्फ ठुलो खाल्डो बनाइएका छन् भने बाटो खेतमा परिणत भएको छ । भत्काइएको सो बाटोको जग्गा पारसको ससुराको नाममा थियो । उनले बाटो निर्माणका लागि मौखिक सहमति दिए पछि ७ सय ५० मिटरको बाटो निर्माण भएको स्थानीय बताउँछन् । सो बाटोमा नगरपालिकाले ३ पटक बजेट लगानी गरी सडक बनाएको थियो ।

पिपरी डालपुर अन्तर्गत ७५० मिटर लामो रहेको यो बाटो ६ मिटर चौडा रहेको छ । २५ वर्ष पुरानो यो बाटो पहिलाको चलन चल्तीको बाटो रहेको र हाल विस्तार गरी ठुलो गरिएको हो । पारस बढईले बाटो निर्माण गर्दा आफ्नो भागभोगको जग्गा मात्र सडकले मिचेको कारण बाटो भत्काइदिएको बताए । बढईले आफ्नो जग्गामा मात्र सडक बढाएको तर अर्को पट्टी रहेको ललाउ कुर्मीको जग्गा छाडिएकोप्रति आक्रोश पोखे ।

ललाउले सडकका लागि जग्गा दिए आफूले पनि दिन तयार रहेको उनले बताए । उता ललाउले साँढे दुई दशकदेखि उक्त बाटो चलनचल्तीको बाटो भएको र तत्कालीन समयमा पारसका ससुराले सडक निर्माण गर्दा जग्गा दिएको दाबी गरे । बाटो बिग्रँदा डालपुरमा रहेका २३ घरधुरीलाई आउजाउ गर्न समस्या भएको छ । सो बारेमा दिनहुँजसो दुर्घटना हुने गरेको स्थानीय प्रमोद यादव बताउँछन् ।

सो बाटो भई पिपरी आधारभूत विद्यालयमा जाने डेढ दर्जन बालबालिका समेत समस्यामा परेका छन् । कक्षा ५ मा पढ्ने पूजा यादव डालपुर गाउँबाट स्कुल पढ्न आउँदा बाटो खनिएको कारण आवतजावतमा समस्या परेको बताउँछिन् । गैर कानुनीरुपमा सडक खनिएको विषयमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगर प्रमुख किरण सिंहले चलनचल्तीको बाटो खन्नु अवैधानिक भएको बताए । उनले सो विषयमा प्रहरी र प्रशासनमा जानकारी गराएको बताए । उनले गैर कानुनीरुपमा सडक खन्नेलाई अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने बताए ।

प्रतिकृया दिनुहोस्