हाम्रो देश
११ असोज २०७८, सोमवार

सर्लाहीमा तीन दिनदेखि हराइरहेकी किशोरी मृत अवस्थामा भेटिइन्

२ भदौ, जनकपुरधाम। सर्लाहीमा तीन दिनदेखि हराइरहेकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७, रानीगंज निवासी राजन भुजेलकी १६ बर्षीया छोरी प्रियंकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

३१ साउनदेखि घरबाट हराइरहेकी उनको शव लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलामा फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । शव फेला परेको ठाउँ उनको घरदेखि झण्डै तीन किलोमिटर टाढा छ ।

३१ साउनमा प्रियंका हराएपछि परिवारजनले ३२ साउनमा इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थियो । डीएसपी बुढाथोकीले शव सडेको अवस्थामा फेला परेको बताए । ‘मृत शरीरमा त्यस्तो निलडाम र घाउ देखिएको छैन’ उनले भने, ‘शव केही सडेको देखिएको छ ।’ किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने उनले बताए ।