हाम्रो देश
११ असोज २०७८, सोमवार

दैनिक २५ करोड घाटामा ठमेल, व्यवसायी भन्छन्– अचेल चियाले भोक टार्नुपर्छ

छिप्पिँदो साँझमा फुटपाथमै चिसो सिरेटोसँग रम्दै चियाको चुस्की लगाउँदै रमिरहेका विदेशीहरू। कानमा मुन्द्रा लगाएका, शरीरभरी ट्याटु खोपेका र गिटार भिरेका तन्नेरीहरू। जब दोहोरी साँझ, लाउन्ज, बार, रेस्टुरेन्ट तथा डिस्कोका रंगिचंगी बत्तीले वरपरका गल्ली पोत्न थाल्थे, टहलिँदै हिँड्ने जोडीको हुल बाँधिदै जान्थ्यो। जतिजति साँझ छिप्पिँदै जान्थ्यो, मिश्रित धूनहरू उति गाढा सुनिन्थे। यो दृश्य सबै निदाउने तरखरमा हुँदा स्फूर्त भएर जाग्राम बस्ने काठमाडौंको एउटा चर्चित ठाउँको हो- ठमेलको।

तर आज मदहोस ठमेलका यी अनुभव कथाझैं बनेका छन्। कोरोना महामारीका कारण झन्डै दुई वर्षयता ठमेलमा यस्ता दृश्य हराइरहेका छन्। साँझ पर्न नपाउँदै सटर बन्द हुन्छन्। अध्याँरा गल्लीमा एकाध सवारी हुइँकिन्छन्। कुनै बेला मध्यरातसम्म रमझम गर्ने ठमेल अचेल यसै निदाउँछ।

साँझले बिट मार्दै थियो। हामी पुग्दा त्यहाँका व्यापारी सटरमा धमाधम ताला ठोक्न थालिसकेका थिए। ‘सात बज्न लाग्यो। अब पनि सटर खुला राख्यो भने त प्रहरी आइहाल्छन्। फेरि गाली सुन्नुपर्छ,’ व्यापारी श्याम तामाङ निकै हतारिएका सुनिए।

थांका पेन्टिङ व्यवसाय गर्दै आएका उनी बाहिर झुन्ड्याएका सामग्री हस्याङफस्याङ गर्दै भित्र हुल्न थाले। सामान्य अवस्थामा दैनिक तीसदेखि चालीस हजार हाराहारी कारोबार गर्थे उनी। हिजोआज एक हजारको व्यापार मुश्किल छ।

‘यो व्यवसाय विशेष त विदेशी लक्षित हो। अहिले पर्यटक आगमन ठप्प छ। त्यही पनि सामान नबिग्रियोस् भनेर मात्रै सटर खोलेको। आफ्नो दुःख आफैंसँग छ। कसैलाई सुनाएर सुल्झिने होइन,’ दिक्दारी भावमा उनले भने।

अर्का व्यवसायी मन श्रेष्ठ पनि पसल बन्द गर्ने तरखरमा भेटिए। विगत दस वर्षदेखि व्यापारमा सक्रिय उनी पस्मिना कपडा, गरगहना, झोला झुम्का लगायत पर्यटक लक्षित सामग्री बेच्छन्। उनले पनि पसल थुनिराख्दा सामान बिग्रिन्छ भनेर खोलेको बताए। महिनौं सटर थुनेर राख्नुपर्दा लाखौं लगानी डुब्दै गरेको देख्न थालेका छन् उनी। पाँच लाखबाट सुरू गरेको व्यवसायमा उनले लगानी बढाएर २० लाख पुर्‍याएका थिए।

‘व्यापार हुँदा दैनिक तीन लाखसम्म पनि कारोबार हुन्थ्यो। अहिले रित्तो हात,’ उनले भने, ‘हामी यस्तो जर्जर अवस्थामा हुँदा पनि सरकारबाट राहत मिलेन।’ रौनकबिहीन ठमेलका सडकमा एकादुई मानिस ओहोरदोहोर गरे पनि व्यापार-व्यवसाय ठप्प छ। कोही व्यापारी पसलभित्रै टोलाइरहेका भेटिन्छन् त कोही एक ठाउँ भेला भएर गफिँदै गरेका।

पुण्यराम लागेजू त्यहीँ चिया पिउँदै अरू व्यवसायीहरूसँग कुरा गर्दै थिए। ‘ठमेलका व्यवसायीको हालत यस्तै छ हजुर। दिनभर पसलमा बस्यो। खाजा खाने पैसा पनि हुँदैन। अचेल यसरी एक ठाउँमा जम्मा भयो, चियाले भोक मेटायो,’ पुण्यरामले सेतोपाटीसँग भने।

ठमेल पर्यटन विकास परिषदका कोषाध्यक्षसमेत रहेका पुण्यराम ठमेलका ५० प्रतिशत व्यवसाय बन्द भइसकेको बताउँछन्। टेक्रिङ सामानहरू बिक्री गर्दै आएका उनले आफ्नो लाखौं लगानी पनि धराशायी भएको बताए। ‘एकाध विदेश जानेहरू आए भने लान्छन्, नत्र दिनभरि रूँगेर बस्ने,’ उनले भने। सामान्य अवस्थामा पुण्यरामले दैनिक २५ हजार बढीको कारोबार गर्थे। झण्डै दुई वर्षयता व्यापार शून्य छ।

यताको कारोबार शून्य हुने देखेर उनले पहिलो लकडाउनपछि ‘मःम मज्जा’ रेस्टुरेन्ट खोलेका थिए। ठमेलसँगै बसन्तपुर, बानेश्वर र ढल्कुमा समेत शाखा विस्तार गरे। तर फेरि महामारीले गाँजिहाल्यो। ‘अब त महामारी आउँदैन होला भनेर बैंकबाट ऋण काढेर लगानी गरेँ, सबै डुब्यो,’ महामारीमा पनि बैंकहरूले ताकेता गर्दा झन् समस्या परेको उनी बताउँछन्।

सरकारले व्यवसायीलाई सहज नबनाइदिएकोमा पनि उनी आक्रोशित छन्, ‘प्रभावित व्यवसायीलाई पाँच प्रतिशत ब्याजदरमा ऋण दिने भन्ने कागजमा मात्रै सीमित भयो,’ उनले गुनासो गरे। उनको पसलको सटर भाडा मासिक ७० हजार बढी छ। पहिलो लकडाउनमा दुई महिना छुट पाएका थिए। पछिल्लो लकडाउनमा त सबै तिरे। २१ वर्षदेखि ठमलेमा व्यवसाय गरिरहेका उनी यसअघि कमाएको पनि महामारीमा सकिएको बताउँछन्।

ठमेल पर्यटन विकास परिषदका अनुसार कोरोनाअघि ठमेलमा पर्यटनसँग सम्बन्धित दस हजार स्वरोजगार तथा व्यवसायी थिए। उनीहरूले ९० हजारलाई प्रत्यक्ष रोजगारी दिएको परिषदले जनाएको छ।

अहिले धेरै व्यवसायी पलायन भइसके, कतिको रोजगारी गुमेको छ। तर के-कतिको भन्ने यकिन तथ्यांक परिषदसँग छैन। ‘हामीले तथ्यांक राखेर दिए पनि केही राहत पाइने होइन। तथ्यांक भएको र नभएको के अर्थ,’ परिषदका उपाध्यक्ष भविश्वर शर्माले सेतोपाटीसँग भने, ‘त्यही भएर कोही व्यवसायी आफ्नो विवरण दिन चाहँदैनन्।’

पहिलो लकडाउनपछि, २०७७ साल भदौसम्म ठमेलबाट सात सय व्यवसायी विस्थापित भएको परिषदले तथ्यांक राखेको थियो। यिनमा होटल, रेस्टुरेन्ट, ट्राभल एन्ट टूर्स तथा सरसामानका पसल थिए। त्यो तथ्यांक संकलन गरेर आफूहरू पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, विभाग, अर्थमन्त्रालय, राष्ट्र बैंकदेखि सम्बन्धित सबै निकाय चहार्दा पनि केही सुनुवाइ नभएकाले तथ्यांक राख्नै छाडेको उनको भनाइ छ।

‘राज्यले केही सुनेन। हाम्रो समस्या सुनुवाइ नहुने भएपछि विवरण किन दिने?,’ शर्माले आक्रोश पोखे। यकिन नभए पनि झन्डै आधाजसो व्यवसायी पलायन भइसकेको परिषदको अनुमान छ। घरको एक तलामाथि सञ्चालन भइरहेका त सबैजसो व्यवसाय पलायन भएको उपाध्यक्ष शर्माले बताए। ‘ठमेलको व्यापार शून्य छ। कफी सपहरूको २० प्रतिशत जस्तो भइरहेको छ, अरू खुलेका मात्रै छन्। ट्राभल एन्ड टूर्स त सबैजसो पलायन भइसके,’ उनले भने।

उनका अनुसार सामान्य अवस्थामा ठमेलमा दैनिक २५ करोडभन्दा बढीको कारोबार हुन्थ्यो। अहिले त्यो सबै घाटामा छ। महँगो भाडा तिर्न नसक्ने अवस्थाका होटल, रेस्टुरेन्ट तथा पसलहरू बन्द भएका छन् भने धेरैजसो बिक्रीमा राखिएको छ। त्यस्तै नाइट क्लब, दोहोरी साँझ, डान्सबार, स्पा लगायत रात्रिकालीन व्यवसाय खुला गर्न सरकारले अनुमति पनि दिएको छैन।

‘कोरोना संक्रमण दर बढिरहेकै छ। विदेशी पर्यटकमा निर्भर ठमेललाई तंग्रिन गाह्रो छ। तुरून्त पर्यटक आएर व्यवसाय चलिहाल्ने पनि देखिँदैन,’ उनले भने। लकडाउन बेला भाडा छुट नपाउँदा र सरकारी सहयोग नभएकाले पनि पलायन हुने संख्या बढेको शर्माको भनाइ छ। उनका अनुसार पहिलो लकडाउन अवधिको भाडा समायोजन सम्बन्धी कार्यक्रम चलाइएको थियो। त्यसमा ७० प्रतिशत घरधनीबीचमा भाडा समायोजन भयो। केहीले सीमित अवधिका लागि ३० देखि ६० प्रतिशतसम्म छुट दिए। अरू कतिले त दिँदै दिएनन्।

त्यस्तै सरकारले आफूहरूलाई ऋणसमेत नपत्याएको उनी बताउँछन्। ‘राष्ट्र बैंकले बिना धितो २५ लाखसम्म सहुलियत कर्जा दिने भन्ने थियो, केही पहुँचवालाले मात्रै पाए। हामीले पाएनौं,’ उनले भने, ‘राज्यले ल्याउने नीति तथा कार्यक्रम राजनीतिक पहुँच भएकाले मात्रै पाउँछन्। सानातिना व्यवसायी त सधैं मर्कामा।’

मौद्रिक नीतिले व्यवस्था गरेका सुविधा पनि वास्तविक समस्या परेका साना व्यवसायीले पाउनेमा विश्वस्त हुन नसकेको उपाध्यक्ष शर्माको भनाइ छ। ठमेलका पर्यटन व्यवसायीलाई पाँच प्रतिशतमा २५ लाखसम्म र पर्यटन मजदुरलाई मासिक २० हजारसम्म बिना धितो ऋण दिनुपर्ने माग उनीहरूको हो। व्यवसाय चलायमान नहुँदासम्म किस्ता तिर्न नपर्ने व्यवस्था मिलाइ दिए सहज हुने शर्मा बताउँछन्।

नेपाल पर्यटन बोर्डले भने पर्यटन क्षेत्र पुनरूत्थानका लागि कायक्रम ल्याएको र योजना बनाइरहेको जनाएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीका अनुसार दक्ष पर्यटन मजदुरलाई यो क्षेत्रबाट पलायन हुन नदिन पनि कार्यक्रम अगाडि बढाउन लागिएको हो।

तर कोभिड महामारी कायमै रहेकाले पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढ्न नसकेको उनले बताए। ‘सहज अवस्था भएपछि पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने गरी अवधारणा तय गरिएको छ,’ रेग्मीले भने।