हाम्रो देश
१४ फाल्गुन २०७७, शुक्रवार

नेपाललाई ‘हिन्दु राष्ट्र’ बनाउने पक्षका सशांक कोइराला र योगी आदित्यनाथको भेट

लखनऊ, १ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । बुधबार लखनऊस्थित मुख्यमन्त्रीको कार्यकक्षमा भएको भेटमा योगीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो व्यक्त गरेका थिए । दुवै नेताबीच नेपाल भारत सम्बन्ध र भविष्यमा धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।भेटमा सहभागीका अनुसार योगीले आध्यात्मिक पर्यटनलगायतका विषयमा कुराकानी गरेका थिए ।

उनले धर्मको विषयमा निकै चासो राखेका थिए । योगीले पशुपतिनाथ देखि विश्वनाथ, गोखरपुर देखि गोरखा, दाङ देखि बलरामपुर, मिर्जापुर देखि पोखरासम्मको धार्मिक तथा ऐतिहासिक सम्बन्धको चर्चा गर्दै धर्मको महत्वबारे व्याख्या गरेका थिए ।योगीले काँग्रेस महामन्त्री डा. सशांक कोइरालाको विचार ध्यानपूर्वक सुनेका थिए । विश्वस्त स्रोतका अनुसार कोइरालाले धर्मका बारे आफू गम्भीर भएको बताएका थिए । धार्मिक सम्बन्धको महत्वबारे समेत कुराकानी गरेका थिए ।भेटमा काँग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, भारतका लागि नेपालका पूर्व राजदूत दिपकुमार उपाध्याय र काँग्रेसका युवा नेता सन्दीप राना समेत सहभागी थिए ।

उनीहरुले नेपाल र भारतको उत्तर प्रदेशबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक निकटताबारे समेत छलफल गरेका थिए ।योगी आदित्यनाथ नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापनाका पक्षधर मानिन्छन् । उनले उत्तर प्रदेशको मुख्यमन्त्री हुनु अगाडि यो विषय सार्वजनिक रुपमै उठाएका थिए । काँग्रेस महामन्त्री डा. सशांक कोइराला हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका छन् । उनले राजसंस्थाबारे पुर्नविचार गर्नुपर्ने विषय समेत राखिसकेका छन् ।नेपाली काँग्रसको महाधिवेशन आगामी वर्ष हुने तय भइसक्दा डा. सशांक कोइरालाको सक्रियतालाई अर्थपूर्ण मानिएको छ । उनको योगी आदित्यनाथसँगको भेट निकै अर्थपूर्ण रहेको छ ।

प्रतिकृया दिनुहोस्