हाम्रो देश
११ असोज २०७८, सोमवार

काठमाडौं प्रशासनले गर्‍यो बजार अनुगमन, मास्क नलगाउनेलाई कारबाही

काठमाडौँ — आइतबार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीले न्युरोड, बसन्तपुर, सुन्धारालगायतका बजार क्षेत्रको अनुगमन गरेको छ । अनुगमनका क्रममा मास्क नलगाएका ६८ जना व्यापारीलाई एकसय रुपैयाँ जरिवाना समेत गरेको छ ।

साहयक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अनुगमनको क्रममा पसलमा आउने ग्राहकहरुका लागि अनिवार्य रुपमा मास्क र स्यानीटाइजरको व्यवस्था गर्न पनि व्यापारीहरुलाई निर्देशन समेत दिइएको छ । ‘स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरी नबस्न व्यापारीहरुलाई निर्देशन दिएका छौं । र आफ्नो पसलमा आउने ग्राहकहरुलाई समेत सेनिटाईजर र अनिवार्य रुपमा मास्क लगाएर मात्रै पसलमा प्रवेश गर्न दिनुहोला भनेर निर्देशन दियौं,’ उनले भने, ‘यसै सन्दर्भमा हामीले मास्क नलगाएका ६८ जना व्यक्तिहरुलाई एक सयका दरले जरिवाना गर्‍यौं र मास्क नलगाई हिँडिरहेका सर्वसाधारणलाई सम्झाबुझाइ मास्क लगाउन अनुरोध गरी ७५ जनालाई निःशुल्क मास्कको पनि व्यवस्था गर्‍यौं ।’

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट बच्नका लागि जनस्वास्थ्य मापदण्डको पालना भए/नभएको अनुगमन गर्न प्रत्येक दिन बिराएर बजारको अनुगमनको व्यवस्था मिलाएको बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बजारका साथै सबै सार्वजनिक सवारी साधनमा पनि यात्रुहरुका लागि अनिवार्य रुपमा मास्क र स्यानीटाइजरको व्यवस्था गर्न निर्देशन दिएको र त्यसको पालना भए/नभएको अनुगमनको कामलाई पनि तीव्रता दिइएको जानकारी दिए ।