हाम्रो देश
२१ फाल्गुन २०७७, शुक्रवार

पहिलो सेमिफाइनलको नतिजा पुनर्वासको पक्षमा

कञ्चनपुर ।   पुनर्वासमा सञ्चालन भईरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलको नतिजा पुनर्वास (नीलो)ले आफ्नो पक्षमा पार्न सफल भएको छ । हिजो विहिबार बेलौरीलाई ३-१ को गोल अन्तरले हराउँदै पुनर्वास (निलो) फाईनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको अठारौं मिनेटमा पुनर्वासका खेलाडी विशाल बोहराले पहिलो हेड गोल हानेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी दोस्रो हाफको आठौं मिनेटमा पुन: विशाल बोहराले अर्को गोल थप्न सफल भएका थिए । खेल निकै प्रतिस्पर्धात्मक भईरहँदा दोश्रो हाफको अठारौ मिनेटमा अर्का खेलाडी सुदिप तामाङले पुनर्वासको पक्षमा गोल थपेपछी ३-० ले पुनर्वास अगाडी देखिएको थियोे ।

प्रतिस्पर्धी टिमको दबावलाई झेल्दै

दोस्रो हाफको २६ औं मिनेटमा बेलौरीले एक गोल फर्काउन सफल भएको थियोे । बेलौरीका खेलाडी दिपेन्द्र शाहीले गोल गर्दै आफ्नो टिमलाई राहत दिलाए । खेलको उत्तरार्द्धमा बेलौरीले खेललाई आफ्नो पक्षमा पार्न खोजेपनी पुनर्वास टिमका खेलाडीहरुको कुशलताको अगाडी केही लागेन । अन्तत: ३-१ को फराकिलो अन्तरले पुनर्वास(निलो) फाईनलमा प्रवेश गरेरै छाड्यो ।

खेल अवधिभरीमा सर्वाधिक दुई गोल हान्न सफल पुनर्वास (निलो) का खेलाडी विशाल बोहरा म्यान अफ दि म्याच बन्न सफल भए । उनले दुई हजार प्राप्त गरेका थिए ।

आज शुक्रबार दिउँसो दुई बजेबाट हुने दोस्रो सेमिफाइनल खेल गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका बिच हुने सचिवालय संयोजक काशीराम बोहराले जानकारी गराउनुभएको छ ।
आजको दोस्रो सेमिफाईनल विजेताले पहिलो सेमिफाइनल विजेता टोली पुर्नवास(निलो)सँग फाईनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । र फाईनल खेल भोलि शनिबार हुँदैछ ।

विजेता पुनर्वास (निलो)

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वित्तीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगरस्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो । त्यस्तै, म्यान अफ दि म्याचलाई हरेक दिन दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।
प्रतियोगितामा कैलाली कञ्चनपुर र बर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका छ्न । सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भईरहेको प्रतियोगिताका संयोजक खडक विक्रम थापाले हाम्रै साझा पत्रिकालाई जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्