हाम्रो देश
१६ फाल्गुन २०७७, आइतवार

पूर्वप्रधानसेनापतिमाथि परेको उजुरीबारे छलफल गर्न रक्षामन्त्रीलाई संसदीय समितिले बोलाउने

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि परेको उजुरीबारे छलफल गर्न रक्षामन्त्री, प्रधानसेनापति र रक्षा सचिवलाई बोलाउने भएको छ।

शुक्रबार बसेको समिति बैठकले सो निर्णय गरेको हो। यद्यपी समितिले कहिले बोलाउने भन्नेबारे भने नखुलाएको समिति सदस्य कृष्णगोपाल श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

‘आज बसेको बैठकले रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षा सचिव रेश्मीराज पाण्डेलाई बोलाउने निर्णय गरिएको छ’, उनले भने,‘तर समय भने तोकिएको छैन।’

आफ्नो कार्यकालमा क्षेत्रीले अकुत सम्पत्ति जोडेको भन्ने उजुरी संसदीय समितिमा परेको थियो।

आजको छलफलमा प्रेसलाई सहभागी हुन भने दिइएको थिएन।

‘प्रेसलाई समिति बैठकमा सहभागी हुन नदिनु सभापति गलत निर्णय हो’,उनले भने।

गत असोजमा नेकपा सांसद रेखा शर्माको संयोजकत्वमा समितिले प्राप्त गुनासो तथा उजुरीहरूको संक्षिप्त विवरण र उजुरी सुनुवाइ कार्यदल गठन गरेको थियो।

बिहीबार समितिले गठन गरेको कार्यदलले पूर्वप्रधानसेनापति क्षेत्रीले पदमा रहँदा गरेको अनियमितता र भ्रष्टाचारको छानबिन गर्नुपर्ने भन्ने उजुरीलाई समितिमा पेश गरेको थियो।

पूर्वप्रधानसेनापतिमाथि सेनाको मुख्यालय बनाउने क्रममा र राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणमा अनियमितता गरेको आरोप छ।

प्रतिकृया दिनुहोस्