हाम्रो देश
६ कार्तिक २०७८, शनिवार

सुदूरपश्चिममा बढ्दो सवारी दुर्घटना, यस्ता छन् ५ कारण

वीरेन्द्र भट्ट   ,

धनगढी  –  ०७८ असोज २५ गते अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो। १४ जना घाइते भए। असोज २३ गते कञ्चनपुरको बेलौरीमा मोटरसाइकल दुर्घटनामा हुँदा ३२ वर्षीय रत्न शाहीको मृत्यु भयो। असोज २६ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका राजीपुरमा विङ्गरले मोटरसाइकललाई टक्कर दिँदा १५ जना घाइते भएर अस्पताल भर्ना छन्।

असोज २६ गते अर्थात फूलपातीको दिन धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुराको राइमा ब्रेक फेल भएर १० जना घाइते भए। बुधबार मात्र बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २३ वर्षीय योगेश पालको मुत्यु भएको छ। २३ गते धनगढी–अत्तरिया ६ लेन सडकमा राखिएको डिभाइडरमा मोटरसाइकल ठोक्किएर हसनपुरका २६ वर्षीय दिमेश सिंहको मृत्यु भयो।

यी घटनाहरु दसैं सुरु भएपछि मात्र घटेका हुन्। दसैं सुरु भएपछि मात्र आधा दर्जनभन्दा बढीको सवारी दुर्घनामा परेर मृत्यु भइसकेको छ भने चार दर्जन बढी घाइते भएर अस्पताल भर्ना छन्। चालकको स्वास्थ्य प्रत्येक वर्ष अनिवार्य जाँच गर्नुपर्ने र योग्य भए मात्र लाइसेन्सले निरन्तरता पाउने सहितको नियमावली २०७१ सालमा मन्त्रिपरिषद्बाट पारित भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यान्वयनमा ल्याउन आनाकानी गर्दै आएको छ।

नियमावली कार्यान्वयन नहुँदा पनि विशेष गरी चाडपर्वको बेला सवारी दुर्घटना हुने गरेको सरोकारवाला बताउँछन्। चाडपर्वको बेला क्षमता भन्दा बढी यात्रु राख्ने अवस्थाका कारण पनि दुर्घटना हुने गरेको सवारी चालक मिलन चन्दको अनुभव छ। ‘यात्रुहरुले जथाभावी बाटो काट्ने र सवारी धनीले पनि क्षमताभन्दा बढी यात्रु राख्ने अवस्थाका कारण दुर्घटना बढ्ने गरेको छ,’ उनले भने।

ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गर्नुपर्नेमा चाडपर्वको बेला प्रभावकारी अनुगमन समेत नगरेको उनले बताए। चाडपर्वको बेला ट्राफिक नियमको पालना नगर्ने अवस्थाका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताइरहेका बेला सवारी चालक टेकराज भट्टले भने साँघुरो सडक र यात्रुले जथाभावी बाटो काट्दा दुर्घटना हुने गरेको अनुभव सुनाउँछन्। उनले अगाडि थपे, ‘चाडपर्वको बेला सबैलाई घर जाने हतार हुन्छ, बस खचाखच भरिएको हुन्छ, मिलेर जान्छौँ भनेर यात्रुहरुले नै जिद्दी गर्दा कहिलेकाँही दुर्घटना हुन पुग्छ।’

सार्वजनिक सडक ऐन, २०३१ को दफा १६ ‘क’ मा सरकारले नेपाल राजपत्रमा सूचना निकालेर कुनै सार्वजनिक सडकले थाम्न सक्ने तौलको सीमा तोकेर बढी बजनको सवारी साधन चलाउन निषेध गर्न सक्ने व्यवस्था गरेको छ। तर, सरकारी उदासीनताका कारण क्षमताभन्दा बढी भारका सवारी साधन सञ्चालन हुँदा सडकहरू छिट्टै बिग्रिने र त्यस्तो कमजोर सडकमा बढी दुर्घटना हुने गरेको छ।

सवारीधानको अत्याधिक चाप, क्षमता भन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, वर्षौ पुराना यात्रुबाहक सवारी साधन, पहाडी जिल्लामा घुमाउरो र जीर्ण सडक लगायत कारण सवारी दुर्घना बर्सेनि बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सञ्चालन गरेको भएपनि सवारी दुर्घना भने नियन्त्रणबाहिर देखिएको छ।

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने अवस्थाका कारण चाडपर्वमा दुर्घटना तुलनात्मक रुपमा बढी हुने गरेको ट्राफिक प्रहरीको भनाई छ। पहाडी जिल्लाका लागि छुट्ने सवारी साधनको गति र मापसे चेकजाँचका लागि गोदावरीमा विशेष चेकजाँचको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेब गौतमले बताए। ‘पहाडी जिल्लामा जाने सवारीसाधनको चेकजाँच गोदावरीमा कडाईका साथ लागु गरेका छौँ, टाइम कार्ड नै जारी गरेर गति मापन गर्ने काम समेत भइरहेको छ,’ उनले दिनेशखबरलाई भने।

यातायात व्यवस्था ऐनमा एउटा चालकले निरन्तर ८ घण्टासम्म मात्र सवारी चलाउन पाउने व्यवस्था गरेको छ। तर, लामो दूरीका चालकले लगातार १२/१४ घण्टासम्म सवारी चलाउने गरेका छन्, जसको अनुगमन र नियन्त्रण नै हुँदैन।

दुर्घटना बढ्नुका ५ कारण

बर्सेनि सडक दुर्घटना हुनुमा पहिलो कारण सवारी चालकको लापरवाही र क्षमताभन्दा बढी यात्रु राख्नु नै रहेको प्रहरीको दाबी छ। सवारी दुर्घटना हुनुमा अर्कोे कारण यात्रुहरुको कमजोरी पनि रहेको प्रहरीको भनाइ छ। चलिरहेको गाडीबाट झरिदिने, चढिदिने, झुण्डिएर यात्रा गर्ने, छतमा यात्रा गर्ने, शरीर बाहिर निकालेर यात्रा गर्ने र बाटो काट्दा सावधानी नअपनाउने कारणले पनि दुर्घटना बढेको प्रहरीको धारण छ। सवारी साधनकै कारण पनि दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ। दुर्घटना हुनुको चौथो कारण मौसम भएको प्रहरीको बुझाइ छ भने सडकको अवस्थाकै कारण पनि सवारी दुर्घटना हुने गरेको प्रहरीको बुझाइ छ।