हाम्रो देश
१४ फाल्गुन २०७७, शुक्रवार

बामदेवलाई रोक्न खोज्दा ओलीको सत्तामा कम्पन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने कि नगर्ने विषयले नयाँ विवाद ल्याएको छ । नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्ने रणनीति बनाएपछि विवाद चर्केको हो ।गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने पक्षमा सचिवालयका अधिकांश सदस्य रहेपछि ओलीले मंगलबार राति वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर लामो छलफल गरेका थिए । नेपाल पनि गौतमको पक्षमा उभिए । जसका कारण ओलीको केही लागेन । सचिवालयले गौतमको पक्षमा निर्णय गर्यो ।सचिवालय निर्णयपछि गौतम आजै बर्दिया लागेका थिए ।

तर, दिनभर नयाँ घटनाक्रम विकास भयो । गौतमलाई रोक्ने पक्षमा ओली देखिए । सचिवालयमा ओली र ईश्वर पोखरेलबाहेक सबै गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने पक्षमा उभिएको सचिवालयका एक सदस्यले रिपोर्टर्स नेपाललाई बताए । ओलीले पार्टीको निर्णय विपरित गएमा गम्भीर विवाद आउने अवस्था बनिसकेको छ । बहुमत सचिवालय सदस्यहरु गौतमको पक्षमा देखिइसकेका छन् ।ओलीले गौतमलाई रोक्न खोजेबाट नेकपाभित्र नयाँ राजनीतिक विवाद देखिनथालेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली एक्लिदै गएको बुझिएको छ । उनलाई अहिले ईश्वर पोखरेलको मात्र दरिलो साथ छ । विष्णु पौडेल मध्यमार्गी बाटो लिइरहेका छन् ।

बाँकी सचिवालयमा रहेकाहरु उनको विपक्षमा देखिएका छन् ।नेकपाभित्र विकसित घटनाक्रमले ओली सरकार नै डगमगाउन थालेको छ । कहिले एमसीसी विवाद त कहिले कस्लाई कुन पदमा ल्याउने भन्ने विवादले संकट बढाउँदै लगेको छ । प्रदेश सरकार संचालनमा ओलीले एकलौटी गरेको भन्दै वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल निकै रुष्ट छन् । पछिल्लो पटक विकास भएको वामदेव गौतमलाई राष्ट्रियसभामा लाने विषय र संविधान संशोधनको विषयले अर्को चुनौती थपेको छ । यो अस्त्रको सामना गर्न ओलीलाई हम्मे पर्न थालेको छ ।

प्रतिकृया दिनुहोस्