लुम्बिनी । साझा पार्टीका संयोजक रवीन्द्र मिश्राले नेपालको वैकल्पिक राजनीतिको उर्जा साझा पार्टीभित्र मात्र रहेको दाबी गरेका छन् । लुम्बिनीमा आयोजित साझा पार्टीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मिश्रले काँग्रेस, कम्युनिस्टलगायतका दलहरु सुसंस्कृत राजनीति नगरेको कारण त्यसबाट अत्तालिएर नेपाली जनता वैकल्पिक राजनीतिको खोजी गर्न थालेको बताएका हुन् ।उनले दोस्रो राष्ट्रिय भेलामार्फत् साझा पार्टी भ्रष्टाचार निर्मूलीकरण तथा सुसंस्कृत राजनीतिको एजेण्डालाई बटमलाइन बनाइ जनतामाझ जान कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।
भ्रष्टाचारकै कारण कम्युनिष्ट नेतृत्व सरकार ढल्ने प्रबल सम्भावना बढेको हुँदा त्यसपछि सुशासन तथा सुसंस्कृत राजनीतिलाई स्थापित गर्न साझा पार्टीबाहेक अरु कसैले गर्न नसक्ने उनले दाबी गरे ।कार्यक्रममा साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बुद्धजन्मस्थल लुम्बिनीबाट नेपाली राजनीतिमा नयाँ आयाम थपेर फरक धारबाट वैकल्पिक राजनीतिको उर्जा प्रदान गर्न चाहेको बताए ।सो अवसरमा राजनीतिक मामिला प्रमुख मुमाराम खनाल, संगठन विभाग प्रमुख केशव दाहाल, सांसद शोभा शाक्य लगायतले धारणा राखेका थिए ।