हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

बजार अभावमा बारीमै कुहिए बन्दागोभी

रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ को दहभागेमा किसानले उत्पादन गरेका बन्दागोभी बारीमै कुहिएका छन् । बन्दागोभीले बजार नपाउँदा बारीमै कुहिएको किसानहरूले बताएका छन् ।

बजार अभावका कारण बारीमै बन्दागोभी कुहिएपछि किसानहरू चिन्तित बनेका छन् । त्रिवेणी गाउँपालिका १ का किसान मनकला खत्रीले तरकारी व्यवसायका लागि उब्जाएका बन्दागोभीले बजार नपाउँदा बारीमै कुहिएको बताउनुभयो ।

अर्का किसान हरिभक्त ओलीले दहभागे टोलका प्रायः किसानले मेहनत र लगानी गरेर उब्जाएको खेती खेर जाँदा किसानहरू हतोत्साही भएको जनाउनुभयो । ‘स्थानीय बजारमा समेत खपत भएन’, ओलीले भन्नुभयो, ‘दाङ पठाउँदा किसाने मूल्य पाउनुको साटो ढुवानी भाडासमेत बेहोर्नुपर्ने अवस्था आयो ।’

स्थानीयवासी छविलाल केसीका अनुसार यहाँका १५ घर किसानले यस पटक लगाएका बन्दागोभी बारीमै कुहिएको छ । झन्डै २५ कठ्ठा जमिनमा लगाएको बन्दागोभी कुहिएर गएको केसीले बताउनुभयो ।

दाङबाट प्रति केजी १० रुपैयाँको दरले माग आए पनि त्यहाँसम्म पुर्‍याउँदा प्रति केजी १७ रुपैयाँ भाडा नै लाग्ने भएकाले बन्दागोभी किसानकै बारीमा कुहिएको बताइएको छ । बन्दागोभी कुहिएपछि किसानहरूले पालिकाबाट क्षतिपुर्तिको आशा गरेका छन् ।