काठमाडौं : केहिदिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर संक्रमण फैलिएको ‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा पूर्व सावधानी अपनाउन भनेको थियो ।
चिनबाट शुरु भएको कोरना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै सरकारले जोखिम बढ्न नदिन सावधानी अपनाएको र सबैमा सचेत रहन समेत आग्रह गरेको थियो । भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै आज चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना गरिएको छ ।
नेपाल बाहिर बाट आएका ति दुइ जना नेपालीलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका आएका हुन् । हस्पिटलका एक कर्मचारीका अनुसार, ‘नमुना संकलन गरेर ल्याबमा पठाइसकेको छ , भोलिसम्ममा रिपोर्ट आउने छ ।’ नेपाल बाहिर बाट आएका उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको होइन ।
मन्त्रालयले काठमाडौंका सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाएको जनाएको छ । विदेशबाट आउने यात्रुको उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षण गरी पठाउने व्यवस्था मिलाएको छ ।
यदि कोही यात्रुमा संक्रमणको शंका लागेमा त्यहाँबाट सोझै अस्पताल पुर्याइने व्यवस्था मिलाएको छ । एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।
चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि विभिन्न चिनियाँ शहरहरूमा रहेका नेपालीहरू समेत स्वदेश फर्किन थालेका छन् । उनीहरुलाई विमानस्थलमा उच्च निगरानीमा राखिएको विमानस्थलस्थित हेल्थ डेस्कले जानकारी दिएको हो ।