हाम्रो देश
१४ फाल्गुन २०७७, शुक्रवार

सुदूरपश्चिमका मातृ भाषा हराउन थालेको प्रति देउवाद्वारा चिन्ता व्यक्त

धनगढी- पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले नेपालको राष्ट्रिय भाषा र अन्य मातृ भाषाहरू हराउन थालेका भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । कैलालीको धनगढीमा सम्पन्न विश्व नेपाली साहित्य महोत्सवको समापन गर्दै देउवाले राष्ट्र भाषाका रूपमा प्रचलित नेपाली बिर्सेर अङ्ग्रेजी अङ्गाल्नु चिन्ताको विषय भएको बताउनु भयो । साथै मातृ भाषामा समेत विविधताले भरिपूर्ण सुदूरपश्चिमका सबै भाषाको संरक्षण आवश्यक रहेको उहाँको भनाई छ ।

भाषा अति महत्त्वपूर्ण विषय भएकाले यसको संरक्षणमा जागरण ल्याउनुपर्नेमा देउवाको जोड छ ।
विकास निर्माणका सवालमा समेत पार्टी नभनेर सबैले एकजुट हुनुपर्ने देउवाले बताउनु भयो । राजनीतिक एकता कायम हुन सके सुदूरपश्चिमको एकतालेनै पश्चिम सेती बन्न सक्ने भन्दै उहाँले विकासका लागि राजनीतिक एकता आवश्यक रहेको बताउनु भयो ।समापन कार्यक्रममा देउवालाई नागरिक अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले साहित्य महोत्सवले भाषाको उद्गमस्थलका रूपमा समेत स्थापित सुदूरपश्चिमलाई विश्व सामु चिनाउन सफल भएको बताउनु भयो ।

सरकारले सुदूरपश्चिमका धार्मिक क्षेत्रहरूको पहिचान र स्तरोन्नतिका लागि पहल गरिरहेको उल्लेख गर्दै उहाँले बाजुराको बडी मालिकाको विकासको योजना अघि सारिएको बताउनु भयो ।कार्यक्रम मार्फत सुदूरपश्चिमाञ्चल साहित्य समाजले ९ बुँदे घोषणा पत्र जारी गरेको छ । जसमा आगामी वर्ष प्रदेश सरकारले अभिभावकत्व ग्रहण गरी यो महोत्सवलाई विश्व नारी महोत्सवका रूपमा मनाउन प्रस्ताव समेत गरिएको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताउनु भयो ।गत १४ गतेबाट धनगढीमा सुरु भएको विश्व नेपाली साहित्य महोत्सव ९ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्