हाम्रो देश
१६ मङ्सिर २०७८, बिहिवार

दाङमा बन्दकर्ताले गरे सडक सफाई र ट्राफिक चिन्हको व्यवस्थापन

दाङ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन्। मंगगलबार गरेको नेपाल बन्दको क्रममा दाङमा भने फरक दृष्य देखिएको हो।

सडकका देखिएका बन्दकर्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा लागेका छन्।बन्द कर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन्। राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्त प्रकास वलीले बताए।‘सबै साथीहरुले नयाँ र रचनात्मक काम गरौ भनेर प्रयास गरेका हौँ,’ उनले भने, ‘मूल्यवृद्धिको विरोधमा बन्द भएपनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएका छौँ।’

बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालिन हुने विश्वास आफूहरुले लिएको उनले बताए।लामो समयदेखि जेव्राक्रसिङहरु मेटिदै गएको अवस्था हुँदा समेत त्यसको संरक्षण नभएको देखेर यसलाई नयाँ बनाइएको वलीले बताए।