हाम्रो देश
१६ मङ्सिर २०७८, बिहिवार

जुम्लाको तापक्रम माइनस ५.५, धारामा जम्न थाल्यो पानी

जुम्ला, कात्तिक ३० गते । जुम्लामा तापक्रम एक्कासी घटेपछि चिसो बढेको छ । जुम्लाको तापक्रम पछिल्लो समय घटेपछि चिसो अत्याधिक बढेको हो ।चिसोले बिहान बेलुका बढी समस्या हुने र जनजीवन प्रभावित हुन थालेको छ । चिसोले पानी जम्न थालेको छ ।

अहिले जुम्लाको तापक्रम माइनस डिग्रीमा झरेपछि धारा तथा भाडामा राखिएका पानीहरु जम्म थालेका छन् । विहान धारामा पानी जमेर समस्या भएको स्थानीय शुलोचना हितानले जानकारी दिनुभयो । चिसोले बजारमा बाक्लो कपडा खरिद गर्नेदेखि न्यानो गर्न नागरिकहरु व्यवस्थापनमा जुटेको देखिन्छ । गाउँ तथा बजार क्षेत्रका विभिन्न चोकमा आगो समेत वालेर न्यानो गर्न थालिएको छ । तातोपानी लगाएर नुहाउने र कपडा धुने काम पनि शुरुवात भएको देखिन्छ ।

अहिले जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विज्ञान कार्यालय जुम्ला जुम्लाले जनाएको छ । मौसम विज्ञान कार्यालयका मौसम अवलोकनकर्ता जमुना हमालका अनुसार तापक्रम माईनसमा झरिसकेको हो । उहाँले विहान बेलुकी घट्ने र दिउँसो केही माथि उक्लिने गरेको जानकारी दिनुभयो ।

तापक्रम माईनसमा झरेपछि पानी जम्ने भएको तर यस पटक मंसिर नलाग्दै माइनस पाँच बढि भइसकेपछि चिसो बढेको हो । चिसोले बालबालिका र ज्येष्ठ नागरिकहरुलाई बढी प्रभावित गर्दै आएको छ । स्वास्थ्यकर्मीहरुले बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गर्न सुझाव दिँदै आएका छन् । जुम्लामा धारामा जमेको पानी ।