हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

एक महिलाको शरीरबाट उपचारबिनै ‘एचआईभी एड्स’ निर्मूल

एजेन्सी । आर्जेन्टिनामा एउटी महिलाको शरीरबाट उपचार वा औषधि प्रयोग नगरीकनै एचआईभी निर्मूल भएको छ। उक्त महिलाको शरीरको प्रतिरक्षा क्षमताले भाइरसलाई निर्मूल पारेको हुनसक्ने चिकित्सकहरूको धारणा रहेको छ। एक अर्बभन्दा बढी कोषमा गरिएका परीक्षणमा उनको शरीरमा एचआईभी सङ्क्रमणको कुनै सङ्केत देखा नपरेको आर्काइभ्स अफ इन्टर्नल मेडिसिनले जनाएको छ।

त्यो प्रक्रिया पत्ता लगाउन सकियो भने एचआईभी निर्मूल पार्न वा प्रभावकारी उपचार गर्न सकिने विज्ञहरू बताउँछन्। अहिले पत्ता लागेको तथ्यले केही मानिसमा एचआईभीलाई पराजित गर्न सक्ने जन्मजात क्षमता हुन्छ भन्ने प्रमाणित समेत गरेको छ । कसैकसैको शरीरमा एचआईभी सङ्क्रमण हुन नदिने वंशाणु वा जीनहरू हुन्छन्। नाम उल्लेख गर्न नचाहने तर ‘एस्पेरान्जा पेशन्ट’ उपनाम दिइकी ती महिलासहित अरूलाई एचआईभी सर्ने तर पछि हराउने गरेको देखिएको छ।

एचआईभी भएका अधिकांश सङ्क्रमितलाई आजीवन एन्टिरेट्रोभाइरल थेरपी (एआरटी) आवश्यक हुन्छ। औषधि लिन छोडेको अवस्थामा निष्क्रिय बसेको भाइरस जाग्न सक्छ र फेरि समस्या हुन सक्छ। तथापि केही वर्षयता ‘एलिट कन्ट्रोलरहरू’ फेला परेको विवरणहरू आएका छन्। तिनको शरीरले औषधि नलिई तर अरू केही सहयोग लिएर भाइरसलाई दमन गर्न सक्छ।

क्यान्सरको उपचारका लागि लन्डनका एडम कास्टिलेजोले एक दाताबाट स्टेम(सेल लिए। त्यसपछि उनले एचआईभीका लागि दैनिक छुट्टै औषधि लिनुपरेन। क्यान्सरको उपचारको क्रममा उनको शरीरमा एचआईभीबाट सङ्क्रमित कोषहरू हराए र नयाँ कोषहरू बने। भाग्यवश उनलाई स्टेम-सेल दिने व्यक्तिको शरीरमा एचआईभी सर्न नदिने जीन थियो। केवल एक प्रतिशत मानिसमा त्यस्तो आनुवंशिक क्षमता हुन्छ।