हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

काठमाडौंमा छ संसारकै टप–५ मा परेका सार्वजनिक शौचालय

सार्वजनिक शौचालय भन्ने बित्तिकै पक्कै पनि तपाईंको नाक खुम्चिन्छ। जानुअगाडि धेरैपटक सोच्नु पनि होला। अप्ठ्यारो परेका बेला अनुहार बटारेरै भए पनि जानैपर्‍यो है! कहिलेकाहीँ राम्रा र सफा शौचालय पुग्दा त अचम्मै लाग्ला! स्वयम्भू बुद्धपार्कबाट भगवानपाउ जाने जंगलको बाटोमा बायाँपट्टि हेर्नुभयो भने त्यस्तै अचम्म लाग्ने शौचालय देख्नुहुन्छ। सफा, सहज र स्मार्ट।

यो शौचालय संसारकै उत्कृष्ट पाँचमा परेको छ भन्दा तपाईं अझै चित खानुहोला। नेदरल्यान्डले आयोजना गरेको ‘सरफाती सेनिटेसन च्यालेन्ज’ मा विश्वभरका ८० सरसफाइ संस्थामध्येबाट यो शौचालय उत्कृष्ट पाँचमा पर्न सफल भएको छ। सेप्टेम्बरमा हुने अन्तिम घोषणामा पहिलो हुनेले एक लाख युरो पुरस्कार पाउनेछन्।

यो शौचालयको नाम पनि छ- एरोसान। एकतले भवनमा बनेको यसमा पूर्वाधार, व्यवस्थापन र वातावरणमैत्री गरेर मुख्य तीन कुरामा ध्यान दिइएको प्रकाश अमात्यले जानकारी दिए। अमात्य ‘गुथि’ नामक गैरनाफामूलक संस्थामा कार्यरत छन्। आकाशे पानी, शौचालय व्यवस्थापन र वातावरणका विषय उनको कामको मुख्य क्षेत्र हो। स्वयम्भूमा दुई वर्षअघि यो शौचालय बनाउन पनि उनी र गुथिकै हात छ।

अमात्यका अनुसार नगरपालिकाले उनीहरूलाई जग्गा उपलब्ध गराइदियो। शौचालय बनाउन क्यानडाको सहयोग छ। करिब ६० लाख रूपैयाँ लागतमा यो तयार भएको हो। यहाँ मान्छे छिर्नेबित्तिकै बत्ती बल्छ, बाहिर निस्किँदा आफैं निभ्छ। सेन्सर लाइटहरू प्रयोग भएका छन्। दायाँतिर पुरुषका लागि दुइटा र बायाँतिर महिलाका लागि दुइटा शौचालय छन्। सँगै पर्यटक, अशक्त र पाका मान्छेलाई सजिलो हुने शौचालय पनि छ।

महिला शौचालय छेउको भित्तामा स्यानिटरी प्याड राखिएको भेन्डिङ मेसिन छ। दुई रूपैयाँका तीन वटा सिक्का खसाएपछि, अर्थात् छ रूपैयाँमा एउटा प्याड पाइन्छ। बाहिर किनिने प्याडभन्दा सस्तै पर्छ। प्रयोग भएका प्याड फाल्ने डस्टबिन र ती प्याडलाई बिजुलीबाट जलाउने मेसिन पनि त्यहीँमुनि राखिएको छ।

अब सिक्का नभए कहाँबाट ल्याउने? त्यसको समाधान शौचालयका बीचमै रहेको पसल हो। यहाँ सिक्का मात्र होइन खानेकुरासमेत किन्न र खान पाइन्छ।

शौचालयकै बीचमा खाने पसल?

सुन्दै अप्ठ्यारो लाग्न सक्छ। तर यसका थप विशेषताबारे थाहा पाएपछि अप्ठ्यारो आफैं भाग्छ।

अमात्यका अनुसार यो शौचालय यस्तो डिजाइनमा बनेको छ जहाँ दुईतिरबाट हावा सहजै बहेर बाहिर निस्किने खालको ‘क्रस-भेन्टिलेसन’ छ। शौचालयको गन्ध त्यहीँबाट बाहिर जान्छ।

हात धोएको र सरसफाइको पानी पाइपबाट तल पठाइन्छ। चार-पाँच पटक फरकफरक ठाउँमा प्रशोधन गरेपछि त्यो पानी राम्रो भएर माथि पुग्छ। त्यहाँ पनि ढुंगा, गिटी, बालुवा लगायत प्रक्रियामा फिल्टर गराएर बल्ल ट्यांकीमा पठाइन्छ।

त्यो पानी पुनः चर्पीमा हाल्न, सरसफाइ गर्न र बारीमा प्रयोग हुन्छ। यहाँ प्रयोग हुने अरू पानी स्रोत भने बर्खा हो। आकाशे पानी संकलन गर्न शौचालयको छानामा ६ सय वर्गफिटको छाना छ। त्यहाँबाट बग्दै आएको पानी १५ हजार लिटरको ट्यांकीमा जम्मा हुन्छ। यसबाटै ८० प्रतिशत पानीको समस्या सामाधान हुन्छ। बाँकी २० प्रतिशत बाहिरी स्रोतबाट ल्याउन पर्छ।

शौचालयको दिसा-पिसाब ‘बायो डाइजेस्टर’ मा आउँछ। यसबाट बायोग्यास उत्पादन हुन्छ। त्यही ग्यासबाट महिनाको दुई सिलिन्डर ग्यास उत्पादन भइरहेको छ।

त्यसबाट यहाँको खाजा पसलमा चिया, पकौडा, तरकारी लगायत परिकार पाक्छन्। चाउचाउ, बिस्कुट, पानी, जुस लगायत अन्य खानेकुरा किन्न पाइन्छ। बाहिरभन्दा सस्तोमा महिनावारी प्याड र दस रूपैयाँका दुइटा मास्क यहाँ बेचिन्छ। शौचालयको नियम हो, मास्क लगाउनैपर्ने।

व्यवस्थापनको कुरा गर्दा यो शौचालय महिलाद्वारा सञ्चालित छ। सरसफाइ अनुभव भएका महिलाले यहाँको रेखदेख र सफाइ काम सम्हाल्छन्। बिहान ६ बजेदेखि बेलुकी ८–९ बजेसम्म खुल्ने भएकाले दुई सिफ्टमा काम हुन्छ। स्वयम्भूकै ‘स्वाभिमानी सरसफाइ समूह’ ले उनीहरूलाई परिचालन गरेको हो। पसलमा उठेको पैसा त्यही समूहलाई जान्छ।

यहाँ काम गर्ने तीन कर्मचारीलाई दिइएको सुरूआती तलब सरकारले तोकेको न्यूनतम १५ हजार रूपैयाँ हो। त्यसमा बीमा, भत्ता लगायत अन्य सुविधा थप भएको अमात्यले जानकारी दिए।

कर्मचारीको छुट्टै पोशाक पनि छ। आफूले कुनै कार्यालयमै काम गरेको महसुस गरून् भन्ने यहाँको उद्देश्य हो।

यहाँ शौचालय गएको पैसा तिर्नु पर्दैन। त्यसको बदलामा तपाईंलाई बायोग्यासबाट पाक्ने १५ रूपैयाँ पर्ने कालो चिया खान आग्रह गरिन्छ।

हामी त्यही चिया खाँदै पसलबाहिरको बगैंचामा रहेको बेन्चमा बसेर अमात्यसँग कुराकानी गरिरहेका छौं। यो शौचालयको उद्देश्य यहाँ आएर मानिसहरूले केही समय बिताऊन् भन्ने पनि रहेछ।

अमात्यले भने, ‘यहाँको सबै फोहोर यहीँ व्यवस्थापन हुनु पनि यो शौचालयको विशेषता हो।’

स्वयम्भूको जस्तै स्मार्ट सार्वजनिक शौचालय काठमाडौंमा कति होलान्? त्यस्ता शौचालय सम्झिनै मुश्किल पर्नुका कारण के हुन्? हरेक शौचालय दिवसमा शौचालय अभाव वा राम्रो भएन भनिन्छ, तर समाधान के?

गुथिले वाटर एड नेपालसँग मिलेर उपत्यकाका शौचालयबारे अध्ययन गरेको थियो। जसअनुसार काठमाडौंमा ३५, ललितपुरमा १०, कीर्तिपुरमा १३ र मध्यपुर थिमीमा ६ सार्वजनिक शौचालय छन्। जम्मा ६४ वटा। यसमध्ये केही शौचालय फुटपाथ पसलका गोदाम भएका पाइयो। टुडिँखेल वरिपरिका धेरै फुटपाथ/गाडा व्यापारीले सार्वजनिक शौचालयलाई आफ्नो सामान राख्ने कोठा बनाएका थिए।

अमात्यका अनुसार महानगरले ठेक्कामा दिएका शौचालयको लागत उठाउन ठेकेदारहरूले यसरी भाडामा सामान राख्न दिन्थे।

‘ठेकेदारले महानगरलाई शौचालय शुल्क भनेर वर्षमा ६० लाखसम्म पनि तिर्छ। शौचालय प्रयोगबाट हरेक दिन उठाएको पैसाले त्यो रकम पुग्न हम्मे भएपछि त्यसरी पनि पैसा उठाएका रहेछन्,’ अमात्यले भने।

हामीले काठमाडौं महानगरपालिकासँग पाँच वर्षको ठेक्का लिएर हालै टेन्डर सकेका ऋषि गड्तौलासँग यस विषयमा सोध्यौं। उनले बितेका पाँच वर्षमा हरेक वर्ष २६ लाख तिर्ने गरी विद्युत प्राधिकरण, खुलामञ्च नजिकैको शौचालय, १४ लाखमा वीर अस्पतालको र एक लाखमा शंखपार्कको शौचालय किनेका थिए।

‘सरकारले सार्वजनिक सूचना जारी गरेपछि त्यहीअनुसार ठेक्कामा लिएका थियौं,’ उनले भने, ‘अहिले सम्झौता सकिएपछि महानगरले ती शौचालय भत्काएको छ। छिट्टै नयाँको टेन्डर खोल्ने भनेको छ। त्यसैले अहिले त्यहाँ शौचालय नै छैन।’

सर्वसाधारणको सुविधाका लागि सरकारले शौचालय निःशुल्क बनाउनु पर्ने हो। कर्मचारी खटाएर सेवा–सुविधा दिनुपर्ने हो। तर ठेक्कामा दिएर कमाउन खोज्नु दुःखको कुरा भएको अमात्य बताउँछन्।

शौचालयसँगै जोडिएर आउने अर्को कुरा त्यसबाट निस्कने फोहोर हो। एरोसन ट्वाइलेट्सले गरेको एक अध्ययनअनुसार काठमाडौंका ४० लाख मानिसले गर्ने दिसा–पिसाबबाट दैनिक करिब एक सय ५० सिलिन्डर ग्यास उत्पादन गर्न सकिन्छ। तर हामीकहाँ धेरैजसो खोलानालामा मिसाइन्छ। यसलाई रोक्ने कडा कानुन छैन। त्यसैले जबसम्म फोहोर मिसाउन छाडिन्न, खोलानाला सरसफाइ अभियान सफल नहुने अमात्य बताउँछन्।

त्यस्तै शौचालयको मुद्दामा बायो ग्यास र आकाशेपानीलाई पनि उत्तिकै महत्वमा राख्न जरूरी भएको उनी बताउँछन्।

अमात्यकै रोहवरमा बनेको स्वयम्भूको यो शौचालय अहिले उदाहरणीय बनेको छ। यसैलाई हेरेर काठमाडौं र ललितपुर महानगरले हरेक वडामा एउटा शौचालय बनाउने निर्णय गरेका छन्। पुराना शौचालय पनि राम्रो बनाउने भनेका छन्।

अर्को राम्रो निर्णय पनि छ- कुनै पनि व्यवसायिक भवन, होटलले बाहिरका मान्छेलाई शौचालय प्रयोग गर्न दिए वार्षिक करमा ५० प्रतिशत छुट हुने!

तर अमात्य महानगरका यी काममा ढुक्क छैनन्, भन्छन्, ‘नीति तथा कार्यक्रममा यो योजना राखे पनि उचित बजेट छुट्याएकै छैनन्। त्यसैले लोकप्रिय हुने नीति मात्र हुने हो कि भन्ने डर छ।’

यता अमात्यको गुथिको कामबाट प्रभावित भएर विभिन्न नगरपालिकाले स्मार्ट शौचालय बनाउन आह्वान पनि गर्दै आएका छन्। तर गुथिले दुई सर्त राख्छ- नगरपालिकालाई एक पैसा नतिर्ने र कर्मचारी आफैंले खटाएर व्यवस्थापन गर्ने।

यस्तो सर्त राख्नुको कारण बताउँदै अमात्य भन्छन्, ‘जबसम्म टेन्डर प्रक्रियामार्फत नगरपालिकाहरूले शौचालय ठेक्कामा दिन्छन्, तबसम्म शौचालयको व्यवस्थापन राम्रो हुँदैन।’

उनीहरूकै सम्झौताअनुसार अहिले मंगलबजार, बानेश्वर, बुद्धपार्क लगायत ठाउँमा शौचालय बनिसकेका छन्। उनीहरूको अबको योजना काठमाडौं र ललितपुरमा ५० वटा यस्ता शौचालय बनाउने हो।

‘यो आजको भोलि हुने कुरा होइन। मान्छेलाई बुझाउन पनि समय लाग्ने रहेछ,’ अमात्यले भने।

स्वयम्भूको शौचालयलाई शैक्षिक हबका रूपमा परिणत गर्ने पनि सोचेका छन् उनले। यसबारे नगरपालिकासँग कुराकानी भइरहेको छ। उनले भने, ‘बायोग्यास कसरी बनाउने, आकाशेपानी भनेको के हो, फोहोर कसरी व्यवस्थापन गर्ने लगायत कुरा थाहा पाइने गन्तव्यका रूपमा यो ठाउँ विस्तार गर्ने योजना छ।’