हाम्रो देश
१६ मङ्सिर २०७८, बिहिवार

विराटनगरमा दुर्घटना : एक चिकित्सकको मृत्यु, अर्का चिकित्सक घाइते

विराटनगर : कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ नेपाल आयल निगमनजिक बिहीबार राति दुर्घटना हुँदा एक चिकित्सक (डाक्टर)को मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनुषाको जनकपुर–३ का २७ वर्षीय निखिल पञ्जियारको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पञ्जियार जनकपुरस्थित धनुषाको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर हुन्।

उनका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र–२–०२–००३ प २१८९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । राति ११:३० बजेतिर ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोसी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी खड्काले बताए ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार जनकपुर–३ का २८ वर्षीय रामप्रताप साह घाइते भएका छन् । साह विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत कन्सलटेन्ट फिजिसियन रहेको प्रहरीले जनाएको छ । उनको नोबेलमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुवै जना चिकित्सकहरु नोबेल अस्पतालबाट राति आफ्नो कोठातिर जाँदै गरेका बेला दुर्घटनामा परेको खुलेको छ । मोटरसाइकललाई ठक्कर दिएर भागेको मिनी ट्रकलाई प्रहरीले शुक्रबार मोरङको बूढीगंगा गाउँपालिका–२ बगबोनबाट नियन्त्रणमा लिएको छ । ट्रक चालक मोरङको ग्रामथान गाउँपालिका घर भइ बूढीगंगा–५ मा बस्दै आएका ३८ वर्षीय प्रवीण माझी फरार रहेका कारण खोजी तीव्र पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

उनका अनुसार चालकले कुखुरा फार्मनजिक त्रिपालले छोपेर लुकाइछिपाई राखेको अवस्थामा ट्रक नियन्त्रणमा लिइएको हो । ट्रकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी श्रेष्ठले दिए ।