हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

व्यापार घाटा उच्च जोखिम कति

चालु आर्थिक वर्षमा वैदेशिक व्यापार घाटा उच्चदरमा बढे पनि आत्तिनुपर्ने समस्या आएको छैन। अर्थतन्त्रको बाह्य क्षेत्रमा आएको समस्यालाई देखाएर मुलुकको अर्थतन्त्र नै अप्ठेरोमा परेको बताउन थालिएको छ।

उच्च व्यापार घाटासँगै घट्दो रेमिटेन्स आयका कारण विदेशी विनिमय सञ्चितिमा चाप परेको छ। तर अर्थशास्त्रीहरूले यो अवस्था अर्थतन्त्रका लागि आत्तिनुपर्ने नभएको बताउँछन्।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले आयात वृद्धि हुनुलाई अर्थतन्त्र लयमा फर्किएको ठान्छन्। ‘अर्थतन्त्र लयमा फर्किएकाले यसलाई स्वाभाविक रुपमा लिनुपर्छ,’थापाले नागरिकसँग भने, ‘अर्थतन्त्र चलायमान भएकाले वस्तुको आयात बढेको हो।’

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात बढेको छ। कात्तिकसम्म ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ।गत वर्षको सोही अवधिमा चार खर्ब दुई अर्ब रुपैयाँको मात्र वस्तु आयात भएको थियो। यो गत वर्षको तुलनामा ६१.५७ प्रतिशतको वृद्धि हो।

कोभिडपछि बजारमा उत्पादन र उपभोग बढेकाले आयात बढेको थापाको तर्क छ। थापाले यसलाई अर्थतन्त्र लयमा फर्केको भनेर अथ्र्याए। ‘कोभिड संक्रमण घटेर अहिले दोकान खुलेर आर्थिक गतिविधि बढेका छन्,’थापाले भने, ‘व्यवसाय चल्न थालेपछि आयात बढ्नु स्वाभाविक हो।’ आर्थिक क्रियाकलाप वृद्धि हुँदा त्यसले मुलुकको अर्थतन्त्रलाई हित गर्ने थापाले बताए।

मुलुकको व्यापार घाटा गत वर्षको तुलनामा ६५.४५ प्रतिशतले बढेको छ। गत वर्षको कात्तिकसम्म तीन खर्ब ६२ अर्ब २९ करोड रुपैयाँको व्यापार घाटा रहेकोमा सोही अवधिमा अहिले बढेर पाँच खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको चालु घाटा एक खर्ब ५१ अर्ब ७० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोड बचत रहेको थियो। अघिल्लो वर्ष सोही अवधिमा अमेरिकी डलर २७ करोड ९९ लाख बचतमा रहेकोमा चालु खाता यो वर्ष एक अर्ब २८ करोड घाटा रहेको छ।

विदेशी विनिमय सञ्चिति पनि घटेको छ। गत असारसम्म १३ सय ९९ अर्ब दुई करोड रुपैयाँबराबरको कुल विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमी आई असोज मसान्तसम्म सञ्चिति घटेर १३ सय १९ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तसम्म ११ अर्ब ७५ करोड रहेकोमा असोज मसान्तसम्म ६.५ प्रतिशतले कमी आई १० अर्ब ९८ करोड कायम भएको छ।आर्थिक वर्ष ०७८/७९ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ।

रेमिटेन्स आप्रवाहमा कमी,आयात वृद्धिले सञ्चिति घटेको छ। ‘डलर सञ्चितिले ६ महिनाको आयात पनि धानेन भने मात्र चिन्ता गर्नुपर्ने अवस्था आउँछ,’पूर्वकार्यकारी निर्देशक थापाले भने,‘अहिलेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था छैन।’

केही विज्ञहरूले विलासी वस्तुको आयातमा कडाइ गर्नुपर्छ भनिरहेका बेला त्यस्तो गर्नुपर्ने अवस्था नभएको उनले बताए। प्रत्यक्ष रुपमा हस्तक्षेप गर्नुपर्ने अवस्था नरहेको थापाको टिप्पणी छ। ‘अप्रत्यक्षरुपमा केही मापदण्ड लागू गर्ने नयाँ वित्तीय मापदण्ड अवलम्बन गर्नुपर्छ,’ थापाले भने, ‘अहिलेको गतिविधिले आर्थिक पुनरुत्थान भएको छ।’

विदेशबाट रेमिटेन्स आप्रवाहमा कमी आउँदा विदेशी विनिमय सञ्चितिमा कमी आएको हो। आयात वृद्धि र रेमिटेन्समा कमी हुँदा सञ्चिति घटेको हो।

निर्यातमा सुधार भए पनि त्यसको हिस्सा न्यून रहेको छ। निर्यात एक सय चार प्रतिशतले बढेको छ। गत वर्षको चार महिनामा ४० अर्ब २० करोड रुपैयाँको वस्तु आयात भएकोमा अहिले सोही अवधिमा ८२ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात भएको छ।

कुल वैदेशिक व्यापार पनि ६५.४५ प्रतिशतले बढेको छ। गत वर्ष चार खर्ब ४२ अर्ब रुपैयाँको व्यापार भएकोमा यो वर्ष बढेर सात खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।

वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.७९ प्रतिशत छ भने निर्यातको हिस्सा ११.२१ प्रतिशत छ। साउनदेखि कात्तिक मसान्तसम्म मुलुकमा ७ खर्ब ३२ अर्ब १७ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ। व्यापार बढेकाले राजस्व संकलन भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको बताएका थिए।

चालु आर्थिक वर्षको मंसिर ७ (बिहीबार) सम्म राजस्व, गैरकर राजस्व, वैदेशिक अनुदानबाट कुल तीन खर्ब ७० अर्ब रुपैयाँ संकलन भएको छ। सरकारले मंगलबारसम्म तीन खर्ब पाँच अर्ब रुपैयाँ खर्च गरेको छ। राष्ट्रिय ढुकुटीमा ७४ अर्ब रुपैयाँ बचत छ।