हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए तर, सकेनन् -ओली

काठमाडौँ ।     नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई बिगार्न सक्ने टिप्पणी गरेका छन् ।युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डबाट कुनै काम नभएको र अब कांग्रेसलाई बिगार्न सक्ने बताएका हुन् ।एमाले विगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै ओलीले भने, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन् । अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार कांग्रेस प्रचण्डले सिध्याउलान् ।’

कांग्रेस प्रचण्डको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले कांग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको बताए । न्यायालयको सुधार र सुदृढीकरणका लागि भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको रिफ्लेक्सन भएको टिप्पणी गरेका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनभित्रको विवाद र चरित्र न्यायालयमा देखिएको बताए । ‘अहिले देशमा आन्दोलन छैन । तर, न्यायालयमा आन्दोलन छ । यो पाँच दल (गठबन्धन)को रिफ्लेक्सन हो’, ओलीले भने ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर १४ कात्तिकबाट नेपाल बार एसोसिएसनको आन्दोलन र सर्वोच्च अदालतकै न्यायाधीशको इजलास बहिस्कारलाई ओलीले इंगित गर्दै गठबन्धनको रिफ्लेक्सन भनेर टिप्पणी गरेका हुन् ।