हाम्रो देश
१६ मङ्सिर २०७८, बिहिवार

‘गुन्डानाइके’ गिरीलाई रातारात ल्याइयो मोरङ कारागार

विराटनगर :      ‘गुन्डानाइके’ अभिषेक गिरीलाई रातारात मोरङ कारागार ल्याइएको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरीलाई बिहीबार बिहान ४ बजेतिर मोरङ कारागार ल्याइएको हो। उनलाई ल्याउनकै लागि चौकीदारसहित ८ जना कैदीलाई बुधबार सिन्धुली कारागार सरुवा गरिएको थियो।

गिरीलाई मोरङमा सहज वातावरण बनाउन कारागार व्यवस्थापन विभागले सरुवा गरेकालाई साँझ निकालेर सिन्धुली लैजान खोज्दा विराटनगरस्थित मोरङ कारागारमा तनाव उत्पन्न भएको थियो। ठूलो संख्यामा प्रहरी परिचालन गरेर ८ जनालाई निकाल्न खोज्दा कैदीबन्दी विरोधमा उत्रिए। आन्दोलनमा उत्रिएका कैदीबन्दीले कारागारमा आगजनी गर्ने धम्की दिएपछि सरुवामा परेकाहरुलाई बाहिर निकाल्न गएको प्रहरी टोली राति ८ बजेतिर फिर्ता भएको थियो। त्यसको दुई घण्टापछि पुनः पुगेको प्रहरी टोलीले सरुवामा परेकामध्ये चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारलाई मोरङबाट निकालेर सिन्धुली कारागार लगेको छ।

विभागले चौकीदार कामत र सिटी नाइके परियारसहित बुधबार वडा नाइके रितेश कामतसहित मौसम चौधरी, विजय कामत, विकास महतो, लोकेन्द्र परियार र देवराज मण्डलसमेतका कैदीको सरुवा गरेको थियो। सरुवा गरिएका अन्य ६ जना भने मोरङ कारागारमै छन्। उनीहरुलाई भने कहिले सिन्धुली लगिन्छ भन्ने यकिन नभएको कारागारले जनाएको छ। गिरी विराटनगरकै बासिन्दा हुन्।

नेपाली कांग्रेसमा आवद्ध भएर राजनैतिक संरक्षण एवं आवरणमा अपराधिक गतिविधी सञ्चालन गर्दै आएका ‘गुन्डानाइके’ गिरीलाई सप्तरीबाट मोरङ ल्याइएको हो। त्यसअघि उनलाई काठमाडौंको डिल्ली बजार कारागारमा राखिएको थियो। डिल्ली बजार लैजानुअघि मोरङ कारागारकै चौकीदार रहेका उनलाई २०७४ साल चैत २३ गते डिल्ली बजार स्थानान्तरण गरिएको हो।
मोरङमा रहँदा गुन्डागर्दी, असुली र फिरौतीको धन्दा चलाउँदै यातना दिएर कैदीबन्दीमाथि चरम शोषण गरेको पाइएपछि उनलाई डिल्ली बजार लगिएको हो। तर शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै कांग्रेस नेताको दबाब र गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा भदौ १७ गते गिरीको सरुवा मोरङमा भएको थियो। उनलाई पुनः चौकीदार बनाएर ल्याउनकै लागि मोरङ कारागारका चौकीदार नवीन राईलाई असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरेर किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइयो। तर कैन्दीबन्दी तथा उनीहरुका आफन्तको अवरोध, विरोध र आन्दोलनका कारण कात्तिक १६ गते ‘सुटुक्क’ ल्याइए पनि गिरीले मोरङ कारागार प्रवेश पाउन सकेनन्। त्यसपछि उनलाई सप्तरी कारागार लगिएको थियो। सप्तरीबाट गत शुक्रबार मोरङ सरुवा गरिएका उनकै योजना र इशारामा कात्तिक २४ गते मोरङ कारागारमा झडप हुँदा चौकीदार किरण गुरुङसहित ६ जना कैदीबन्दी घाइते भए। घटनापछि उनको विपक्षमा रहेका गुरुङसहित १४ जना नाइके तथा भाइनाइके कैदीबन्दीलाई झुम्का, झापा र इलाम कारागारमा स्थानान्तरण गरेर कात्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइयो।

गिरीकै पक्ष लागेर झडपको नेतृत्व गर्दै चौकीदारको जिम्मेवारी लिन सफल भएका कामत त्यसपछि भने गिरीको विपक्षमा उभिएका थिए। विरोधमा देखिएर मोरङ ल्याउन अवरोध खडा गरेपछि उनीसहित ८ जनाको सरुवा गरेर गिरीका लागि मोरङ कारागारमा सहज वातावरण बनाइएको हो। कारागारभित्रका अधिकांश कैदीबन्दी गिरीको विपक्षमा छन्।

गिरीका लागि बाटो फराकिलो बनाउनकै लागि उनकै ‘सेटिङ’मा महेन्द्रसिंह खड्कालाई जेलर बनाएर सरकारले मोरङ पठाएको बताइन्छ। नेपाल सरकारका उपसचिव खड्का तीन दिनअघि मात्रै कारागार हाजिर भएका हुन्। त्यसअघि कारागारमा निमित्त जेलर नायव सुब्बा रामप्रसाद पोखरेल थिए। कारागार हाजिर हुनसाथ गिरीको विरोधमा रहेका ८ जना कैदीबन्दीको सरुवाको सिफारिस खड्काले गरेका थिए। पहिलो काम नै सरुवाको सिफारिस हुनुले पनि उनी गिरीको संरक्षणमा रहेको प्रष्ट भएको कारागार स्रोतले बतायो। यस विषयमा बुझ्न खोज्दा जेलर खड्का भने सम्पर्कमा आउन चाहेनन्। नासु पोखरेलले सरुवा गरिएकामध्ये २ जनालाई सिन्धुली लगेर गिरीलाई मोरङ ल्याइएको पुष्टि गरे।

स्रोतका अनुसार दिउँसो ल्याउँदा कैदीबन्दी र उनीहरुका आफन्तले अवरोध गर्ने अवस्था आएपछि रातारात गरेर गिरीलाई मोरङ ल्याउँदै तनावपूर्ण अवस्थामा कारागारभित्र प्रवेश गराइएको हो। गिरीलाई अब मोरङ कारागारको चौकीदार बनाउने तयारी रहेको बताइन्छ। तर अधिकांश कैदीबन्दीले भने चौकीदार बनाइएमा उनको मातहतमा रहन नसकिने बताएका छन्। उनीहरुले गिरीसँग बस्न नसकिने भन्दै आफूहरुको पनि सरुवाको माग गरिरहेका छन्। गिरीले चौकीदारको जिम्मेवारी पाउँदा ज्यान नै जोखिममा पर्ने भन्दै कैदीबन्दी डराइरहेका हुन्।
गिरीलाई मोरङ ल्याउने योजनाअनुरुप कांग्रेस विराटनगर सहसचिव सचिन पोखरेलको नेतृत्वमा कांग्रेसका कार्यकर्ताहरुले गत आइतबार र सोमबार कारागारअगाडि प्रदर्शन गरेका थिए। २ सय ५० जना क्षमता भएको मोरङ कारागारमा अहिले ९ सय ५० जनभन्दा बढी कैदीबन्दी राखिएको छ।