हाम्रो देश
२९ पुष २०७७, बुधवार

गुनासो गर्नुहुन्छ ? मनोरोगी बन्नुहोला है

गुनासो गर्ने एक प्रवृत्ति हो । कोही व्यक्ति यस्ता हुन्छन्, जसलाई हरेक कुरामा गुनासो गर्नुपर्छ । उनीहरु कुनैपनि कुराले पूर्ण सन्तुष्ट वा खुसी हुँदैनन् । हरेक कुरामा केही न केही खोट देख्छन् ।

अक्सर हामी आफ्नो गुनासो अरुलाई व्यक्त गरिरहेका हुन्छौं । गुनासो व्यक्त गर्ने अनेक तरिका छन् । जस्तो रोएर, ठुस्किएर, झगडा गरेर, चर्काचर्की गरेर । यी सबै तरिकाले नकारात्मकता झल्काउँछ । गुनासो गर्ने प्रवृत्ति आफैमा राम्रो होइन । हामी जति जति गुनासो गर्छौ, त्यो प्रवृत्तिको रुपमा विकास हुन्छ । अन्ततः हाम्रो बानी नै के हुन्छ भने गुनासो गरिहाल्ने । जे कुरामा पनि चित्त नबुझाउने । गुनासो जति गरिन्छ, उत्ति बढ्दै जान्छ । हामी गुनासो गरेर मनको विकार पखाल्न खोज्छौ । तर, जति-जति गुनासो गर्दै जान्छौ, यो थप बढ्दै जान्छ । किनभने गुनासो गर्नु नै खराब प्रवृत्तिको विकास गर्नु हो ।

वास्तवमा गुनासो कुनै समाधान पनि होइन । जब तपाईं कुनै कुरामा गुनासो गर्नुहुन्छ, त्यसले तपाईंको समस्या हल हुँदैन । बरु यसको साइड इफेक्ट छ । त्यो के हो भने, गुनासो गर्ने बानीले तपाईंको व्यक्तित्वमा असर गर्छ । तपाईंको व्यक्तित्व नै कमजोर बनाइदिन्छ ।

हुनसक्छ कतिपय कुरामा तपाईंलाई चित्त बुझ्दैन । कतिपय कुरा कुरा तपाईंलाई ठिक लाग्दैन । तर, त्यसको प्रतिक्रिया जनाउने अरु तरिका पनि छन् । तपाईंले गुनासो गर्नुपर्छ भन्ने छैन । जस्तो कि, कार्यलयमा तपाईंमाथि अन्याय भइरहेको छ । तपाईंको कार्यथलोमा तपाईंमाथि भावनात्मक खेलबाड भइरहेको छ । भेदभाव भइरहेको छ । यी कुरालाई सहनुपर्छ भन्ने होइन । यी कुरा बिरुद्ध तपाईंले आवाज उठाउनुपर्छ । जुध्नुपर्छ । सही र तार्किक विधीहरु अपनाउनुपर्छ । तर, गुनासो गर्दैमा तपाईंमाथि भएका दूव्र्यवहार, भेदभाव निमिट्यान्न हुँदैन ।

कतिपय कुरामा तपाईंले एकोहोरो गुनासो गरिरहँदा तपाईंप्रति अरुले हेर्ने दृष्टिकोण नै खराब हुनसक्छ । उनीहरुले बुझ्नेछन् कि तपाईं असन्तुष्ट मानसिकताको व्यक्ति हुनुहुन्छ । कुनै कुराले तपाईं सन्तुष्ट रहनुहुन्न । र, गुनासो गर्नु तपाईंको बानी हो ।

गुनासो गरिरहँदा वास्तवमै त्यो बानीमा रुपान्तरण हुन्छ । अर्थात हाम्रो बानी वा प्रवृत्ति नै गुनासो गर्ने हुन्छ । अतः यस किसिमको प्रवृत्तिले हामीलाई समस्यामा पार्न सक्छ ।

विज्ञको भनाई छ, ‘जुन कुरा हामीले चाहे जस्तो वा हामीले अपेक्षा गरेजस्तो हुँदैन, त्यसप्रति गुनासो गर्नु हाम्रो प्राकृतिक प्रतिक्रिया हो । यदि यस किसिमको प्रतिक्रिया तत्काल जनाइयो र त्यसलाई मनमा राखिएन भने ठिकै हुन्छ । अर्थात नराम्रो हुँदैन । यसले तपाईंको मनमा कुनै किसिमको गुनासो बाँकी रहँदैन ।’ यद्यपी गुनासो गर्ने बानीको विकास भएमा यस्ता कुराहरु मनमै रहिरहन्छ । जब मनमा हामी गुनासो पालेर बस्छौ, त्यो मनोविकार हो । मनोविकारले स्वास्थ्यमा पनि असर पार्छ ।

हामी किन गुनासो गर्छौ ?

सामान्यत गुनासो गर्नु हाम्रो तनाव व्यवस्थापन गर्ने एक तरिका हुनसक्छ । हामी आफुलाई चित्त नबुझेको कुरामा गुनासो गर्छौ । गुनासो गर्नुको भित्री ध्येय यो पनि हुन्छ कि अरुको साहनुभूति पाइयोस् । गुनासो गरिरहँदा हामी आफुलाई पीडित महसुष गरिरहेका हुन्छौ । खासमा गुनासो गर्नु भनेको सेल्फ डिफेन्स अर्थात आत्मरक्षाको कमजोर तरिका पनि हो । हामीमध्ये धेरैले यो कुरा स्विकार गर्नै सक्दैनौ कि, हामीबाट पनि केही गल्ती भएको छ । हामीले पनि केही कमजोरी गरेका छौ । गुनासो गरेर हामीले आफ्नो गल्ती अस्विकार गर्ने राम्रो बाहाना पाउँछौं ।

गुनासो गर्नुको साइड इफेक्ट

गुनासो गरिरहँदा त्यो हाम्रो प्रवृत्ति बन्छ । बानी बन्छ । अतः जुनसुकै कुरामा पनि हामी असन्तुष्ट रहन्छौ । गुनासो गर्छौ । यसले हाम्रो मानसिकता विकृत हुन्छ, स्वास्थ्य खराब हुन्छ । त्यसबाहेक हाम्रो सामाजिक प्रतिष्ठामा पनि यसले आँच पुर्‍याउँछ । गुनासो गर्ने बानीले कसैसँगको सम्बन्धमा फाटो ल्याउँछ ।

गुनासो गर्ने प्रवृत्ति विकास हुँदै गएमा व्यक्तिले आत्मविश्वास पनि गुमाउँछ । कुनैपनि कुरामा तुरुन्तै प्रतिक्रिया जनाउन सक्दैन । आफुलाई चित्त नबुझेको कुरामा आवाज उठाउन सक्दैन । यसले उनीहरुलाई चिन्ता, तनाव वा डिप्रेसनमा पुर्‍याउँछ ।

गुनासो गर्ने बानीले मान्छेलाई तनावग्रस्त बनाउँछ । नकारात्मक भावना बढ्दै जान्छ । निरासावादी  सोंच विकास हुन्छ ।

स्ट्यान्डफोर्ड युनिभर्सिटीले सन् २०१६ मा गरेको अध्ययन अनुसार गुनासो गर्ने बानीले हाम्रो मस्तिष्कको एउटा हिस्सामा नराम्रो असर पुर्‍याउँछ, जुन स्मरणसँग जोडिएको छ । मस्तिष्क र शरीर आपसमा जोडिएको हुन्छ, शरीरले तनावलाई एकहदसम्म सहन सक्छ । तर, अति भएमा त्यसले शरीरमा पीडा दिन्छ । यसले हाम्रो खुसी र उत्साहलाई मारिदिन्छ ।

यसर्थ गुनासो गर्ने बानीले अन्ततः आफैलाई नष्ट गर्छ । गुनासो कुनै समाधान होइन ।

प्रतिकृया दिनुहोस्