हाम्रो देश
८ माघ २०७८, शनिवार

नेपाली महिला टाेलीले जित्याे एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि

एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन भएको छ। मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनल भिडन्तमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो।

पहिलो सेट नेपालले २६-२४ ले जितेको थियो। दोस्रो सेट भने नेपालले गुमायो। दोस्रो सेटमा उज्वेकिस्तान २६-२४ ले नै विजयी भयो। तेस्रो सेटमा नेपालले उत्कृष्ट खेल देखायो। नेपाल २५-१५ ले विजयी हुन सफल भयो। चौथो सेटमा फेरि उज्वेकिस्तान हाबी भयो। चौथो सेट २४-२२ ले जित्दै उज्वेकिस्तानले खेललाई २-२ को बराबरीमा ल्यायो। निर्णायक पाँचौ सेट १५-१० ले जित्दै नेपाल च्याम्पियन भयो।

समूह चरणमा अपराजित
प्रतियोगिताको फाइनलमा पुग्ने क्रममा नेपाल अपराजित रहेको थियो। नेपालले समूह चरणको पहिलो खेलमा रोमाञ्चक जित हात पारेको थियो। श्रीलंकाविरूद्धको पहिलो खेलमा सुरूवाती दुई सेट गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गरेर ३-२ को जित हात पारेको थियो। समूह चरणमा नेपालले श्रीलंकाविरुद्ध बाहेक अन्य टिमसँग कुनै सेट पनि गुमाएन।

नेपालले त्यसपछि बंगलादेश, माल्दिभ्स र उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। समूह चरणको अन्तिम खेलमा किर्गिस्तानविरूद्ध पनि ३-० कै जित हात पारेपछि नेपाल समूह चरणमा अपराजित बनेको थियो।

दुई वर्षअघि नेपालले रचेको थियो इतिहास
दुई वर्षअघि पनि नेपालले प्रतियोगिताको उपाधि जितेको थियो। नेपालले त्यतिबेला फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। त्यतिबेला उपाधि जित्ने क्रममा नेपालले समूह चरण र फाइनलमा गरी कुनै पनि सेट गुमाएको थिएन। नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो। नेपालले सन् २००६, २०१० र २०१६ को सागमा कास्य पदक हात पारेको थियो।

नेपाली महिला भलिबल टिमले जितेको ठूलो पदक २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत जितेको थियो। महिला भलिबलले अन्तर्राष्ट्रिय सहभागीता जनाउन थालेको २० वर्षपछि उपाधि जितेको थियो।

सागमा रजत
ऐतिहासिक स्वर्ण जितेको एक महिनापछि नेपाली महिला भलिबल टिमले सागमा स्वर्ण जित्ने अवसर भने गुमाएको थियो। स्वर्ण भिडन्तमा नेपाल अन्तिममा चुकेको थियो। त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको फाइनल भिडन्तमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि नेपाल रजतमा सीमित भएको थियो। निकै नै रोमाञ्चक खेलमा पराजित भएपछि नेपाली खेलाडी भावुक बनेका थिए।

दक्षिण एसियामा भारतीय महिला भलिबल टिम बलियो टिम हो। बलियो टिमबिरूद्ध नेपालले तेस्रो सेटसम्ममा २-१ को अग्रता बनाएपछि पछिल्ला दुई सेट गुमाएको थियो। स्वर्ण जित्न नसके पनि नेपालले जितेको रजत ऐतिहासिक बन्यो। नेपालले सागमा पहिलो पटक रजत हात पार्न सफल भएको थियो।